राधि विद्युत कम्पनी लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २२ गतेका लागि डाकेको साधारण सभा गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको हो ।
कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिम सभा सञ्चालनका लागि आवश्यक पर्ने शेयरधनीहरूको उपस्थिति (गणपूरक सङ्ख्या) नपुगेकाले सभाको काम कारबाही अगाडि बढाउन नसकिएको कम्पनीले जनाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै सभा स्थगित भएको जानकारी गराएको छ ।
उक्त सभा ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि आयोजना गर्ने तय भएको थियो । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने कार्यसूची रहेको थियो ।
यस्तै, सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आव ०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, आव ०८२/८३ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्तावसमेत पारित गर्ने तय भएको थियो ।
अब अर्को सभा कहिले बस्ने भन्नेबारे कम्पनीले पुनः सूचना प्रकाशित गरी जानकारी दिनेछ । कम्पनी ऐनअनुसार पहिलो पटक गणपूरक सङ्ख्या नपुगेर स्थगित भएको सभा दोस्रो पटक बोलाउँदा केही सहुलियत हुने व्यवस्था छ ।


