काठमाण्डौमा वायु प्रदूषण बढेको छ । एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने निकायका अनुसार आज बिहान पाैने ११ बजे काठमाण्डौमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ । त्यसबेला वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९० पुगेकाे छ । जबकि एक्यूआई १५० नाघ्नुलाई अस्वस्थ मानिन्छ । इन्डेक्सअनुसार ० देखि ५० सम्मको सूचकांकलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्मलाई मध्यम, १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ अनि १५१ देखि २०० सम्म अस्वस्थ मानिन्छ । बिहान पाैने ११ बजे काठमाण्डौ विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये पाँचाै स्थानमा छ ।
त्यस्तै बङ्गलादेशकाे ढाका २८४ सहित पहिलाे स्थानमा र छिमेकी भारतको दिल्ली २७४ सहित दाेश्राे स्थानमा छ । पानी नपर्नु, मौसम सुक्खा हुनु, वनजंगलमा डढेलो लाग्नु, हावा नचल्नु, उद्योग–कलकारखाना, गाडीको धुँवा, कृषि अवशेष जलाउनु तथा अन्य कारणले वायु प्रदूषण बढेको हो । पानी पर्ने तत्काल सम्भावना नरहेकाले प्रदूषण अझ बढ्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा हरेक वर्ष हिउँदमा वायु प्रदूषण उच्च हुने गर्छ । वायु प्रदूषणले श्वासप्रश्वासको समस्या मात्र नभई मुटुरोग, मस्तिष्क रोगको जटिलता ल्याउने डाक्टरको भनाइ छ ।
वायु प्रदूषण बढी भएका बेला दिर्घरोगी, बालबालिका र वृद्धवृद्धालाई अझ समस्या हुने भएकाले सावधानी अपनाउन, घरबाट बाहिर निस्कदा मास्क लगाउन विज्ञको सल्लाह छ ।
अस्वस्थकर वातावरणबाट कसरी जोगिने ?
काठमाण्डौ उपत्यकामा वायु प्रदूषण अस्वस्थकर तहमा पुगेका बेला आमनागरिकले विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ । यस्तो अवस्थामा सकेसम्म अनावश्यक रूपमा घरबाहिर ननिस्कने र अत्यावश्यक काम परेमा मात्र बाहिर निस्कनु उपयुक्त हुन्छ । बाहिर निस्कँदा अनिवार्य रूपमा एन–९५ वा राम्रो गुणस्तरको मास्क प्रयोग गर्नुपर्छ, किनकि साधारण मास्कले धुलो र प्रदूषित कणबाट पूर्ण सुरक्षा दिन सक्दैन । बिहान र बेलुकाको समयमा प्रदूषण बढी हुने भएकाले खुला ठाउँमा हिँडडुल, दौडधुप वा व्यायाम नगर्न विज्ञहरूले सुझाव दिएका छन् ।
घरभित्रको हावा सकेसम्म सफा राख्न झ्यालढोका बन्द राख्ने, धुलो जम्न नदिने र सम्भव भए एयर प्युरिफायर प्रयोग गर्न सकिन्छ । साथै, शरीर स्वस्थ राख्न प्रशस्त पानी पिउने र पोषणयुक्त खाना खाने बानी गर्नुपर्छ । यदि खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, आँखामा पोल्ने वा टाउको दुख्ने जस्ता समस्या देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । विशेषगरी दिर्घरोगी, बालबालिका, गर्भवती महिला र वृद्धवृद्धालाई बढी जोखिम हुने भएकाले उनीहरूको स्वास्थ्यप्रति थप ध्यान दिनु आवश्यक छ ।


