Banijya News

हिल्टन होटेलको पुनर्बिमा प्रकरणमा नेपाल रिका सिइओ सहितलाई जारिवाना

1
1.1K Shares

नेपाल बिमा प्राधिकरणले हिल्टन होटेलको पुनर्बिमा प्रकरणमा कानुनविपरीत काम गरेको देखिएपछि दुई रिइन्स्योरेन्स कम्पनी, एक इन्स्योरेन्स कम्पनी र पुनर्बिमा ब्रोकरलाई कारबाही गरेको छ। प्राधिकरणले हिल्टन होटेलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ को पुनर्बिमा सम्बन्धी निर्देशन उल्लंघन गरेको र पुनर्बिमाको दायित्वमा अनियमितता गरेको भन्दै नेपाल रिका सिइओ सुरेन्द्र थापा, हिमालयन रि–इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्सलाई दुई–दुई लाख रुपैयाँ जरिवाना तिराउने र एलियन्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स तीन महिनाका लागि निलम्बन गर्ने निर्णयगरेको हो ।

यसअघि बिमा ऐन र प्राधिकरणको निर्देशन विपरीत हिल्टन होटेलको हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा हिमालयन रि–इन्स्योरेन्समा गरिएको र पुनर्बिमाको दायित्व नेपाल रिमा लगाउने प्रयास भएको देखिएपछि स्पष्टीकरण सोधिएको थियो। चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो। जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त पाँचतारे होटेलमा ६ अर्ब रुपैयाँ बराबरको बिमा दाबी गरिएको थियो। प्राधिकरणका अनुसार, सो दाबीको दायित्व नेपाल रिलाई थापाको मिलेमतोमा लगाउने प्रयास भएको थियो। कारबाहीपछि यस्तो प्रयास असफल हुने देखिएको छ।

बिमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार प्राधिकरणले निर्देशन उल्लंघन गरेमा दुई लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। गत बिहीबार प्राधिकरण सञ्चालक समितिको बैठकले कारबाही निर्णय गरेको हो । कारबाही सिफारिस गरिएको छानबिन समितिले जेन–जी आन्दोलनपछि हिल्टन होटेलको पुनर्बिमा गर्दा नियम उल्लंघन भएको देखाएको थियो। त्यसपछि प्राधिकरणले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो, तर जवाफ नआएपछि कारबाही गरिएको हो। यसबीच, हिमालयन रि–इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन्।

नेपालमा हुलदंगा तथा आतंकवादजन्य जोखिमको पुनर्बिमा ‘नेपाल रि’ मा मात्र गर्ने नीति भए पनि हिल्टन होटेलको पुनर्बिमा हिमालयन रि मार्फत गरिएको र दाबी नेपाल रिमा लगाउने प्रयास भएको पाइयो। यसमा मिलेमतो भएको प्राधिकरण स्रोतले बताएको छ। यस निर्णयले आगामी समयमा बिमा कम्पनीहरूमा कानुनी पालना र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

1

Scroll to Top