Banijya News

सेयर बजारमा पहिरोः सरकारी नीतिको विरोध गर्दै लगानीकर्ता प्रदर्शनमा

1
1.1K Shares

सरकारले व्यवसायीहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने र कडाइ गर्ने नीति लिएपछि त्यसको प्रत्यक्ष र नकारात्मक असर नेपालको सेयर बजारमा देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार बजार खुल्नेबित्तिकै लगानीकर्ताहरूमा त्रास फैलिँदा नेपाल स्टक एक्सचेन्ज –नेप्से) परिसूचकमा १०५.५० अङ्कको ठुलो पहिरो गएर २६७६.६८ विन्दुमा कायम भएको छ। सरकारको यस्तो कदमले बजारको मनोबल कमजोर बनाएको र स्वच्छ लगानीकर्ताहरू समेत आतङ्कित भएको भन्दै पुँजी बजारका सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बजारमा देखिएको यो तीव्र गिरावट र सरकारी नीतिको विरोध गर्दै आक्रोशित लगानीकर्ताहरू आइतबार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट अगाडि भेला भएर विरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले सरकारले नियोजित रूपमा सेयर बजारलाई धराशायी बनाउन खोजेको र सम्पत्ति शुद्धीकरणको नाममा लगानीकर्ताहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले ‘लगानीको रक्षा गरू र ‘बजार विरोधी नीति बन्द गरू जस्ता नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विशेष गरी ठुला व्यवसायी र बैंकहरूमाथि सम्पत्ति शुद्धीकरणको छानबिन सुरु भएपछि बजारमा तरलता र आत्मविश्वास दुवै घटेको देखिन्छ। लक्ष्मी सनराइज बैंक लगायतका सूचीकृत कम्पनीहरूको सेयर कारोबारमा पनि यसको प्रभाव प्रस्टै झल्किएको छ। लगानीकर्ताहरूले यदि सरकारले तत्कालै बजारमैत्री वातावरण निर्माण नगर्ने र लगानीको सुरक्षाको प्रत्याभूति नगराउने हो भने आगामी दिनमा झन् ठुलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

1

Scroll to Top