काठमाडौँ जिल्ला अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गर्दै अभियोग पत्र दर्ता गरेको हो। उनले पटक-पटक यस्तो कसुर दोहोर्याएको आधारमा थप सजाय र अपराध पीडित संरक्षण ऐन बमोजिम क्षतिपूर्ति समेत भराउन माग गरिएको छ।
प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिँदै सार्वजनिक शान्ति खलल पुर्याउन खोजेको प्रहरी अनुसन्धानले देखाएको छ। विशेषगरी २०८२ फागुनका लागि तय भएको निर्वाचनको विरोध गर्ने क्रममा उनले प्रयोग गरेका शब्दहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गर्नुका साथै सामाजिक वैमनस्यता फैलाउन बल पुर्याएको अभियोगपत्रमा उल्लेख छ। विभिन्न भिडियोहरू मार्फत हिंसात्मक क्रियाकलापलाई प्रश्रय दिने र संवैधानिक प्रक्रियालाई चुनौती दिने खालका सामग्री सम्प्रेषण गरेको प्रमाण अदालतमा पेश गरिएको छ।


