Banijya News

आगामी आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सवा ३ अर्ब बजेट विनियोजन

1
1.0K Shares

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय राजमार्गका विभिन्न जोखिमपूर्ण स्थानमा पहिरो नियन्त्रण गर्न ३ अर्ब १७ करोड रुपैयाँको ठूलो बजेट विनियोजन गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार यो बजेट नियमित मर्मत सम्भार भन्दा बाहिरको हो, जसमा देशका ६८ वटा जोखिमयुक्त स्थान र केही अबण्डा रकम (१५ करोड ८१ लाख) समेत समावेश गरिएको छ।

यसअघिका वर्ष र चालु आर्थिक वर्ष २०८२/८३ सम्म यस्ता पहिरो नियन्त्रणका लागि पूर्व-पहिचान गरेर बजेट राख्ने अभ्यास थिएन। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले संसदमा बजेटबारे जवाफ दिँदै आगामी तीन वर्षभित्र सडकलाई खाल्डाखुल्डी र जोखिमरहित बनाउन सडक सुरक्षामा पौने ५ अर्ब रुपैयाँको तीन वर्षे योजना ल्याइएको बताएका छन्। यसबाहेक पहिरो जोखिम क्षेत्र संरक्षणका लागि २३ अर्ब र दुर्घटना न्यूनीकरण गर्न ३ हजार स्थानीय पुल बनाउने सहित ३ वर्षमा कुल ८१ अर्ब २२ करोड रुपैयाँ खर्च गर्ने सरकारको योजना छ।

यो बजेट अन्तर्गत पूर्वी र मध्य पहाडी क्षेत्रका सडकहरूमा कोशी राजमार्गको केवाबेशी–सभाखोला–खाँदबारी खण्ड र पुष्पलाल राजमार्गको लेगुवा–भोजपुर खण्डका लागि क्रमशः ३ करोड र ३ करोड २४ लाख रुपैयाँ छुट्याइएको छ। धनकुटाको मुलघाट–पात्लेखोला सडकले ५ करोड, हिलेपानी–ओखलढुंगा र मुढे–सल्लेरी खण्डले ४ करोड, तथा हलेसी–दिक्तेल र दिक्तेल–चखेवा सडक खण्डले प्रतिखण्ड ३ करोड ५० लाख रुपैयाँ बजेट पाएका छन्।

यस्तै, चीन जोड्ने मुख्य व्यापारिक मार्ग अरनिको राजमार्गको बाह्रबिसे–कोदारी सडकलाई ६ करोड ९५ लाख, दोलालघाट–लामोसाँघु खण्डलाई ६ करोड १५ लाख र बालाजु–बेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडकलाई ९ करोड रुपैयाँ विनियोजन गरिएको छ। चरिकोट–सिंगटी सडकमा ३ करोड छुट्याइँदा काठमाडौँ उपत्यकाभित्रका सीतापाइला–भीमढुंगा र बालाजु बाइपास नागार्जुन ठूलो खोलामा ३र३ करोड तथा सामाखुसी–टोखा–गुर्जे सडकमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ।

यसैगरी पृथ्वी र सिद्धार्थ राजमार्ग आसपासका क्षेत्रमा नौबिसे–मुग्लिङ–पोखरा सडकलाई ३ करोड र आपटारी–मुग्लिन खण्डलाई ६ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ। आबुखैरेनी–गोरखा घ्याम्पेसाल सडकको तीन स्थानका लागि कुल ९ करोड ५० लाख तथा खैरेनीटार–भीमाद–कावासोती सडकको भुमरिघाट–पाङ्ग्रे–नवलपुर खण्डलाई ३ करोड ६९ लाख र अर्को खण्डलाई ३ करोड रुपैयाँ व्यवस्था गरिएको छ।

सिद्धार्थ राजमार्गको राम्दी–स्याङ्जा–पोखरा खण्डलाई २ करोड २५ लाख, मध्यपहाडी राजमार्गको पोखरा–हरिचोक–हेम्जा–नयाँपुल–मालढुंगा खण्डलाई ९ करोड १० लाख र तौलिहवा–गोरुसिंगे सन्धीखर्क सडकलाई ३ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। बागलुङको कालिगण्डकी पुल–पातिहाल्ने खण्डका दुई स्थानमा ५ करोड ३६ लाख र २ करोड २५ लाख तथा वर्तुङ–तानसेन–रिडी–वामिटक्सार सडकको रिडी–रुद्रवेणी–वामिटक्सार खण्डलाई ५ करोड २७ लाख र मदन भण्डारी राजमार्गको रानीमहल–रिडी खण्डलाई ३ करोड २१ लाख रुपैयाँ छुट्याइएको छ।

लुम्बिनी, राप्ती र कर्णाली क्षेत्रका सडकहरूमा भालुवाङ चकचके खण्डका दुई योजनामा ४र४ करोड र राप्ती राजमार्गको अमिलियादेखि खौलापाससम्मका चार योजनामा कुल ११ करोड ७६ लाख रुपैयाँ बजेट राखिएको छ। जमुनाह–नेपालगन्ज कोहलपुर हर्रे खण्ड र खौलापास पिपल छरेबगर राप्ती राजमार्गमा ३र३ करोड तथा स्यालापासा–मुसीकोट–चौरजहारी खण्डका चार योजनालाई १२ करोड रुपैयाँ विनियोजन गरिएको छ।

कर्णाली राजमार्गलाई ३ करोड छुट्याइँदा नाग्मा–गमगढी सडकका ५ योजनामा साढे १५ करोड, रारा राजमार्गको कुडारी ताल्चा–रारा खण्डलाई ३ करोड र जमुनाह नेपालगन्ज कोहलपुर सुर्खेत जुम्ला सडकका दुई योजनामा ६ करोड ८० लाख रुपैयाँ विनियोजन भएको छ। यस क्षेत्रमा सबैभन्दा ठूलो बजेट सुर्खेत–दैलेख–महावुलेख–गाल्जे खण्डका लागि २० करोड ८६ लाख रुपैयाँ राखिएको छ।

सुदूरपश्चिम क्षेत्रका सडकहरूमा धनगढी–सहजपुर–बुडर–स्याउले सडकलाई १ करोड ६० लाख र धनगढी–अत्तरिया सहजपुर सडकलाई १ करोड ९३ लाख रुपैयाँ बजेट परेको छ। मध्यपहाडी राजमार्गको सिलगढी–स्याउले बजार खण्डका तीन योजनामा ७ करोड ६० लाख र मंगलसेन–बयलपाटा–साँफेबगर–चौखुट्टे खण्डमा ३ करोड २१ लाख रुपैयाँ बजेट छ।

सिंगो कार्यक्रममा सबैभन्दा धेरै ५० करोड रुपैयाँ बजेट साँफेबगर–मार्तडी–कोल्टी सडकका लागि छुट्याइएको छ, जुन रकम बुढिनन्दा नदी र सो खण्डमा यातायात सञ्चालन सहज बनाउन खर्च गरिनेछ। यसबाहेक खोड्पे–वित्थड खण्डका चार योजनालाई साढे १० करोड, गोकुलेश्वर–दार्चुला सडकका ३ योजनालाई साढे ९ करोड, र अनारखोली पाटन सतबाँझ झुलाघाट सडकका दुई योजनामा ६ करोड ७८ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको मन्त्रालयको वार्षिक विकास कार्यक्रममा उल्लेख छ।

1

Scroll to Top