Banijya News

नेपाल विद्युत प्राधिकरणद्वारा बिजुलीको लाइन नकाटी मर्मत गर्ने प्रविधिको सुरुवात

1
1.0K Shares

नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय र निरन्तर बिजुली उपलब्ध गराउने उद्देश्यले लाइन नकाटिकनै (चालु अवस्थामै) मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ। प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गत बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी यस नमुना कार्यको प्रारम्भ गरिएको हो।

नेपालमै पहिलो पटक आइतबारबाट अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी सुरु गरिएको यो कार्यको शुभारम्भ प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा भएको थियो । विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउन सुरु गरिएको यो प्रविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले बताए।

यस नमुना कार्यको सुरुवातका क्रममा कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठसहित वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझा, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख यादव र बुटवल ग्रिड महाशाखा प्रमुख अनिल बन्जाडे लगायत विभिन्न वितरण केन्द्र तथा आयोजना प्रमुखहरूको उपस्थिति रहेको थियो। सो अवसरमा तालिम प्राप्त प्राविधिक कर्मचारीहरूले अत्याधुनिक उपकरणको प्रयोग गरी गुडिरहेको लाइनमै मर्मत कार्य सम्पन्न गरेका थिए।

हाललाई नमुनाका रूपमा सुरु गरिएको यो प्रविधिलाई यसको प्रभावकारिता र आवश्यकताका आधारमा विशेष गरी सहरी क्षेत्रको नियमित मर्मत सम्भारमा व्यापक रूपमा प्रयोग गरिने कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए। भविष्यमा यो प्रविधिलाई विस्तार गर्न सकेको खण्डमा मर्मतका नाममा गरिने अनिवार्य लाइन कटौती (लोडसेडिङ) मा उल्लेख्य कमी आउने र उपभोक्ताले नियमित एवं थप भरपर्दो विद्युत सेवा पाउने अपेक्षा प्राधिकरणले राखेको छ।

1

Scroll to Top