Banijya News

विद्युत महसुलमा भ्याट प्रणाली अपडेटका कारण तीन दिन मिटर रिडिङ बन्द

1
1.0K Shares

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न आफ्नो ‘एमपावर’ बिलिङ प्रणाली अद्यावधिक (प्याच अपडेट) गर्ने भएको छ। कम्प्युटराइज्ड बिलिङ तथा नेटवर्क महाशाखाका अनुसार सरकारको निर्देशन कार्यान्वयनका लागि यो प्राविधिक सुधार गर्न लागिएको हो। प्रणाली अपग्रेडको काम आगामी साउन १७ गतेदेखि १९ गतेसम्म चल्नेछ।

यस प्राविधिक अद्यावधिकका कारण तीन दिनसम्म देशभरका वितरण केन्द्रहरूबाट हुने मिटर रिडिङ र नयाँ बिल जारी गर्ने कार्य पूर्ण रूपमा स्थगित हुनेछ। प्रणाली बन्द रहने अवधिमा ग्राहकको घरमा गई मिटर हेर्ने र तत्काल बिल दिने नियमित सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ। नयाँ भ्याट प्रणाली लागू भएपछि बिलिङ प्रक्रिया थप व्यवस्थित र कानुनी रूपमा स्पष्ट हुने विश्वास लिइएको छ।

मिटर रिडिङ र नयाँ बिलिङ रोकिए पनि ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्ने सेवा भने साविक बमोजिम नै सुचारु रहनेछ। यसअघि नै जारी भइसकेका बिलहरूको रकम ई-सेवा, खल्ती, मोबाइल बैंकिङ तथा अन्य डिजिटल माध्यमबाट सहजै तिर्न सकिने प्राधिकरणले स्पष्ट पारेको छ। यस कार्यबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै सहयोगको अपील गरेको छ।

1

Scroll to Top