नेपाल विद्युत् प्राधिकरणले छुट्टाछुट्टै दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। सञ्चालक समितिको बुधबार बसेको बैठकले सुर्खेतकी ८ वर्षीया बालिका रश्मी जैसी र प्राधिकरणकै कर्मचारी शेरबहादुर मगरलाई राहत तथा उपचार खर्चबापतको रकम स्वीकृत गरेको हो।
पहिलो घटना सुर्खेतको पञ्चपुरी नगरपालिका–२, कोटधाराको हो। त्यहाँ निर्माणाधीन पक्की पुलका कारण नजिकै परेको ११ केभी प्रसारण लाइनको तार छुँदा नुहाएर फर्किँदै गरेकी ८ वर्षीया रश्मी जैसी गम्भीर घाइते भई पूर्ण अंगभङ्ग भएकी थिइन्। विभिन्न अस्पतालमा उपचार गर्दा उनको कुल ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो।
प्राधिकरणको विनियमावली, इलाका प्रहरी कार्यालयको मुचुल्का, नगरपालिकाको सिफारिस र मेडिकल बोर्डको निर्णयका आधारमा बालिका रश्मीलाई कुल १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको छ। यसअघि नै ३ लाख रुपैयाँ पेश्की उपलब्ध गराइसकिएकाले अब उनले बाँकी १० लाख ८१ हजार ३७२ रुपैयाँ पाउनेछन्।
अर्को घटनामा, मेलम्ची वितरण केन्द्रअन्तर्गत १५ केभी प्रसारण लाइनको काम गर्ने क्रममा २०८२ चैत ११ मा खोटाङका २५ वर्षीय कर्मचारी सन्देश भन्ने शेरबहादुर मगर करेन्ट लागेर घाइते भएका थिए। प्राधिकरणले उनको उपचार खर्चबापत ९ लाख ७८ हजार ३०१ रुपैयाँ र क्षतिपूर्तिबापत १० लाख गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ स्वीकृत गरेको छ। यसअघि नै १० लाख पेश्की लगिसकेकाले उनलाई बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ हस्तान्तरण गरिनेछ।

