बझाङको बाँठपाली मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, इन्जिनियर हिक्मत राव र सबइन्जिनियर बमबहादुर रावललाई विपक्षी बनाइएको छ।
त्यस्तै, छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, छविसपाथिभेरा–६ का वडाध्यक्ष मोहनलाल विक, बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढालाई विपक्षी बनाइएको छ।
छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवताको मन्दिर निर्माढाका लागि ५६ लाख सात हजार ८९७ रुपैया ८० पैसाको लागत अनुमान गरिएको थियो। त्यसमध्ये ४५ लाख रुपैयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको थियो। त्यस्तै, उपभोक्ता सहभागिताबाट ११ लाख सात हजार ८९७ रुपैयाँ ८० प्रयास र कन्टिनजेन्सीतर्फ दुई लाख २५ हजार रुपैयाँ रहेको थियो।
तर, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डेल, छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रतालासहितको मिलेमतामो गैरकानुनी लाभ लिनका लागि बढी रकम निकासा गरेको पाइएको अख्तियारको दाबी छ। उनीहरूले २२ लाख एक हजार ६६५ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
उनीहरूबाट त्यही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।


