गृह मन्त्रालयले नियम विपरीत सहसचिवको दरबन्दी रहेका दुई जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी सुम्पेको छ। गृहसचिव राजकुमार श्रेष्ठस्तरीय निर्णयबाट गत शुक्रबार ४२ जना उपसचिवहरूको सरुवा गर्ने क्रममा यस्तो त्रुटि देखिएको हो । मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ को व्यवस्थालाई मिचेर यो कदम चालेको बुझिएको छ।
कार्यविधि अनुसार ‘ग’ वर्गका जिल्लाहरूमा सहसचिवलाई सीडीओका रूपमा खटाउनुपर्ने स्पष्ट व्यवस्था छ। तर, यस पटक उक्त नियम उल्लंघन गर्दै जुम्ला र डडेलधुरा जस्ता ‘ग’ वर्गका जिल्लामा उपसचिवहरूलाई कमान्ड सुम्पिएको छ। जसअनुसार उपसचिव तेजप्रकाश प्रसाईलाई जुम्ला र उपसचिव मिना अर्याललाई डडेलधुराको सीडीओ बनाएर पठाइएको छ। नियम मिचेर गरिएको यस सरुवाका कारण प्रशासनिक वृत्तमा कार्यविधिको पालना र मन्त्रालयको निर्णयमाथि प्रश्न उठेको छ।


