कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा आएर बजेट खर्च गर्ने पुरानै शैलीलाई निरन्तरता दिँदै सोमबार र मंगलबार गरी मात्र दुई दिनमा कुल बजेटको ४.७४ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड ३८ लाख ९८ हजार ६९७ रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको कुल बजेट ल्याएको सरकारले जेठ मसान्तसम्म जम्मा ३६.२६ प्रतिशत (१२ अर्ब ३ करोड ५६ लाख ५ हजार ८५४ रुपैयाँ) मात्र खर्च गर्न सकेको थियो।
तर असार लागेपछि खर्चको गति तीव्र पार्दै असार २१ गतेसम्म १५ अर्ब २४ करोडभन्दा बढी खर्च गरेको सरकारले मंगलबार बेलुका ५ बजेसम्म त्यसलाई बढाएर १६ अर्ब ८१ करोड ६५ लाख ७६ हजार ५७८ रुपैयाँ पुर्याएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। असारको २३ दिनमै ४ अर्बभन्दा बढी बजेट सिध्याएको सरकारले बुधबार र बिहीबारसम्म कुल खर्च ५२ प्रतिशत पुर्याउने अनुमान गरेको छ।
अर्थमन्त्री राजीवविक्रम शाहले असार मसान्तसम्म कुल बजेटको ६३.५२ प्रतिशत अर्थात् २० अर्ब ९६ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरे पनि चालु आर्थिक वर्षको झन्डै १२ देखि १३ अर्ब रुपैयाँ फ्रिज जाने आकलन मन्त्रालयका अधिकारीहरूले गरेका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेट खर्च बेहोर्ने स्रोतका रूपमा चालू वर्षको ६ अर्ब ४१ करोड रुपैयाँलाई बचत रकमका रूपमा राखेको छ। यद्यपि, चालू वर्षको ठूलो रकम (झन्डै १८ अर्ब रुपैयाँ) कार्यान्वयनमै जान नसकेकाले यसको प्रत्यक्ष असर आगामी वर्षको बजेट र स्रोत व्यवस्थापनमा समेत पर्न सक्ने विश्लेषण विश्लेषकहरूले गरेका छन्।


