भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाउँदै कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता’ २०८३’जारी गरेको छ। मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भई असार २२ गतेदेखि कार्यान्वयनमा आएको यस आचारसंहिताले विशेष गरी सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेको छ।
कर्मचारीहरूले कार्यालय समयमा, कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा पोसाक लगाएर खिचिएका फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा राख्न पाउने छैनन्, यद्यपि शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो नियम लागू हुने छैन। फेसबुक, ट्वीटर, ह्वाट्सएप, टिकटक जस्ता सञ्जालहरू प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने र सरकारको नीति तथा कार्यक्रमको प्रतिकूल हुने गरी लेख रचना प्रकाशित गर्न वा टिप्पणी गर्न समेत रोक लगाइएको छ।
यसका साथै, आचारसंहिताले सेवाग्राहीसँगको सम्बन्ध र कार्यस्थलको अनुशासनलाई पनि कडाइका साथ समेटेको छ। कर्मचारीहरूले सेवाग्राहीसँग शिष्ट, मर्यादित र समान व्यवहार गर्नुपर्नेछ भने धर्म, वर्ण, लिङ्ग वा जातका आधारमा भेदभाव नगरी, कुनै पनि प्रकारको मोहलाहिजा, पक्षपात वा पूर्वाग्रह बिना कार्य सम्पादन गर्नुपर्नेछ।
कार्यस्थल भन्दा बाहिर सेवाग्राहीसँग भेटघाट गर्न प्रतिबन्ध लगाइनुका साथै कर्मचारीले कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भएर काम गर्न र पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन पाउने छैनन्। कर्मचारीहरूले कार्यालय समयको पूर्ण पालना गर्दै तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्नेछ र कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन, जुवातास खेल्ने वा धूम्रपान गर्ने जस्ता अमर्यादित कार्य गर्न पाइने छैन।
यसैगरी, सरकारी प्रतीक चिन्ह, छाप, इमेल, पासवर्ड र सरकारी कागजातहरूको सुरक्षा गर्ने जिम्मेवारी कर्मचारीकै हुने भन्दै सरकारी सम्पत्ति, सूचना प्रणाली र उपकरणहरूको दुरुपयोग वा व्यक्तिगत लाभका लागि प्रयोग गर्न निषेध गरिएको छ। यस आचारसंहिताको नियमित अनुगमन मन्त्रालयका सचिव वा निजले तोकेको अधिकृतले गर्ने र संहिता विपरीतका कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ।


