संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार सो अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको थियो।
दुवै मन्त्रीहरूले व्यापार, लगानी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल रूपान्तरण, पर्यटन, श्रम आप्रवासन, पूर्वाधार तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। साथै नेपालका प्राथमिकताका क्षेत्रहरूमा यूएईको सार्वभौम सम्पत्ति कोषको लगानी वृद्धि गर्ने विषयमा समेत उनीहरूबीच महत्त्वपूर्ण विचार आदानप्रदान भएको छ।
भेटकै क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र यूएईबीचको कूटनीतिक सम्बन्धको आसन्न स्वर्णजयन्ती समारोहलाई एउटा प्रमुख कोसेढुङ्गाका रूपमा मनाउन नेपाल सरकार उत्सुक रहेको बताए । उनले यस ऐतिहासिक अवसरलाई थप अर्थपूर्ण बनाउन नेपालका विभिन्न विकास परियोजनाहरूमा यूएईको लगानी सुनिश्चित गर्न आग्रह गरे।
यसका साथै नेपाली नागरिकहरूको प्रशासनिक सहजताका लागि कन्सुलर सेवा विभागले प्रमाणीकरण गरिसकेको प्रहरी प्रतिवेदनलाई यूएई सरकारले पुनः प्रमाणीकरण गर्नुपर्ने झन्झटिलो व्यवस्थालाई हटाउन उनले विशेष जोड दिएका छन ।


