गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा आगजनी र तोडफोडको चपेटामा परेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ। उक्त अप्रिय घटनापछि क्षति पुगेको स्टोरको आवश्यक मर्मतसम्भार र तयारी पूरा गरी भोलि बिहानैदेखि ग्राहकका लागि सम्पूर्ण सेवाहरू सुचारु गर्न लागिएको जानकारी भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दिएका छन्।
लामो समयको अन्तरालपछि स्टोर पुनः खुल्ने भएसँगै स्थानीय उपभोक्ताहरू उत्साहित भएका छन्। क्षतिग्रस्त संरचनाको पुनर्निर्माणपछि सेवालाई निरन्तरता दिन लागिएको भन्दै भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले यस पुनरागमनले ग्राहकहरूलाई सामान खरिद गर्न र दैनिक आवश्यकताका वस्तुहरू जुटाउन थप सहज एवं सुलभ बनाउने विश्वास व्यक्त गरेका छन्।


