ललितपुरको धापाखेलस्थित जेम्स स्कुलले विद्यार्थीहरूमा २१ औँ शताब्दी अनुकूल सीप विकास गराउने उद्देश्यका साथ अत्याधुनिक ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’ सञ्चालनमा ल्याएको छ। हालै आयोजित एक विशेष समारोहका बीच रिबन काटेर र शिलालेख अनावरण गरी उक्त प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको हो।
उक्त कार्यक्रममा थ्रिडीआई स्कुल न्युजिल्यान्डका निर्देशक डा. क्रेग हान्सन, थ्रीडिआई स्कुल नेपालका प्रतिनिधिहरू, विद्यालयका शैक्षिक तथा प्रशासनिक नेतृत्व, अभिभावक एवं शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सिर्जनशीलता र नवप्रवर्तनलाई बढावा दिने साझा लक्ष्यका साथ स्थापना गरिएका यी दुई ल्याबहरूले प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरूलाई पाठ्यपुस्तकको घेराभन्दा बाहिर निस्किएर व्यवहारिक ज्ञान हासिल गर्न मद्दत गर्ने विश्वास लिइएको छ।
विद्यालयका अनुसार यस प्रयोगशालालाई मुख्यतः ‘डिस्कभर’ (पत्ता लगाउने), ‘डिजाइन’ ‘डेभलप’ (विकास गर्ने) र ‘इनोभेट’ (नवप्रवर्तन गर्ने) थलोका रूपमा अघि बढाइनेछ। यहाँ विद्यार्थीहरूले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स , डिजिटल फेब्रिकेसन, कोडिङ, इन्जिनियरिङ र सिर्जनात्मक कला जस्ता अत्याधुनिक विधामा प्रत्यक्ष प्रयोगात्मक अभ्यास गर्न पाउनेछन्। उद्घाटनका अवसरमा शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले नवप्रवर्तनलाई प्रविधिको पाटो मात्र नभई एक मानसिकताका रूपमा बुझ्नुपर्नेमा जोड दिँदै यसले विद्यार्थीमा जिज्ञासा र आलोचनात्मक सोच बढाउने स्पष्ट पारे।
साथै, थ्रीडिआई स्कुलका प्राविधिक निर्देशक जगदीश लोलोगुले यो ल्याबले कक्षाकोठाको सिकाइलाई वास्तविक जीवनमा उतार्न (प्रोटोटाइप बनाउन) सघाउने बताए । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित लाई उद्यमशीलतासँग जोड्ने यो प्रयासले विद्यार्थीहरूलाई भविष्यका चुनौती र रोजगारीका लागि सक्षम बनाउने विश्वास मुख्य वक्ता डा। क्रेग हान्सनले व्यक्त गर्नुभयो। अन्वेषण र जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्ने यो कदम जेम्स स्कुलको शैक्षिक यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको छ।


