Banijya News

असारको अन्तिम दिन कर्णाली सरकारको डेढ अर्ब भुक्तानी

1
1.0K Shares

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम दिन ठूलो रकम भुक्तानी गर्दै बजेट खर्चको अङ्क बढाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको अन्तिम दिन बिहीबार दिउँसो १ बजेसम्म १८ अर्ब ९८ करोड ८९ लाख २० हजार रुपैयाँ भुक्तानी भएकोमा, १ बजेपछिको छोटो अवधिमा मात्रै थप १ अर्ब ५८ करोड २२ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

लेखा अधिकृत ललित थापाले दिएको जानकारी अनुसार यस अन्तिम भुक्तानीसँगै सरकारको कुल खर्च रकम २० अर्ब ५७ करोड १२ लाख ८ हजार रुपैयाँ पुगेको छ, जसको अर्थ सरकारले कुल खर्चको झन्डै २५ प्रतिशत हिस्सा असार महिनाको २५ दिन भित्रै भुक्तानी गरेको देखिन्छ।

चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले कुल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएकोमा समग्रमा ६१।९७ प्रतिशत मात्र बजेट खर्च हुन सकेको छ। शीर्षकगत रूपमा हेर्दा सरकारले चालु तर्फ ७३.४८ प्रतिशत खर्च गरे पनि विकास तर्फको पुँजीगत बजेट भने ५५.७४ प्रतिशत मात्र कार्यान्वयन गर्न सकेको छ। यस वर्ष विकासतर्फ कुल १९ अर्ब ९८ करोड ९३ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएकोमा ११ अर्ब १३ करोड ९३ लाख रुपैयाँ मात्र खर्च भएको छ भने बाँकी ८ अर्ब ८४ करोड ५० लाख रुपैयाँ बराबरको ठूलो बजेट फ्रिज भएको छ। यसले प्रदेशको विकास खर्चको कमजोर अवस्था र असार मसान्तमा मात्रै बजेट सिध्याउने पुरानै प्रवृत्तिलाई पुनः निरन्तरता दिएको स्पष्ट पार्छ।

1

Scroll to Top