नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै ३६४ दिन अवधिको ऋणपत्र निष्कासनका लागि यही २०८३ असार २९ गते बोलकबोल आह्वान गरेको हो ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘छ’ नाम रहेको यस ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत मात्र हुने बैंकले जनाएको छ । सोही दिन ऋणपत्र निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २०८४ असार २९ गते हुनेछ ।
यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । बोलकबोलमा सहभागी हुने संस्थाहरूले बहुब्याजदरमा समेत आवेदन दिन सक्नेछन् भने आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको ४ अंकसम्म खुलाउनु पर्नेछ ।
बोलकबोलमा सबैभन्दा कम ब्याजदर माग गर्नेलाई प्राथमिकता दिँदै एकल ब्याजदर कायम गरी ऋणपत्र बाँडफाँट गरिनेछ । समान ब्याजदर भएकाहरूको हकमा समानुपातिक रूपमा रकम बाँडफाँट हुनेछ ।
यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउनेछन् । खरिदकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रलाई राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा कर्जा लिँदा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सुविधा दिइएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले यस ऋणपत्रमा गरेको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाउने तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ऋणपत्र परिपक्व हुनुअगावै यस बापतको रकम फिर्ता भने पाइने छैन ।


