कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउने उद्देश्यका साथ मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ नामक नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। असार २५ गते आयोजित एक विशेष समारोहका बीच कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल र अन्नपूर्ण बाथवेयरका व्यवस्थापन टोलीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका हुन्। यस नयाँ शोरुममार्फत मोरङ र यस आसपासका क्षेत्रका ग्राहकहरूले विभिन्न प्रिमियम वाल टायल्स, फ्लोर टायल्स र अत्याधुनिक बाथवेयरका उत्पादनहरू सजिलै प्राप्त गर्न सक्नेछन्।
पूर्ण रूपमा ग्राहक-मैत्री ढाँचामा तयार पारिएको यस शोरुममा अन्तर्राष्ट्रियस्तरका अत्याधुनिक डिजाइन, टेक्स्चर र फिनिसिङका टायल्सहरू प्रत्यक्ष अवलोकन गरी छनोट गर्ने विशेष व्यवस्था मिलाइएको छ। यस आधुनिक प्रदर्शनी कक्षले स्थानीय घरधनी, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरहरूलाई आफ्नो आवश्यकता र रुचि अनुसारका सामग्रीहरू छान्न निकै सहज बनाउने कम्पनीको विश्वास छ। अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको यो सहकार्यले पूर्वी क्षेत्रमा गुणस्तरीय र आधुनिक टायल तथा बाथवेयरको उपलब्धतालाई अझ सुलभ बनाउने उद्घाटनका अवसरमा कम्पनीका प्रतिनिधिहरूले बताए।
सर्वसाधारणका लागि खुला भइसकेको यस शोरुममा अत्याधुनिक उत्पादनहरू हेर्न र खरिदका लागि कम्पनीले सबैमा आग्रह समेत गरेको छ। नेपालमै उन्नत र अत्याधुनिक प्रविधिमा आधारित टायलहरू उत्पादन गर्दै आएको कजारिया रमेश टायल्स लिमिटेडका उत्पादनहरू देशभर लोकप्रिय छन्। हाल कम्पनीले आफ्ना १०० भन्दा बढी शोरुमहरूको बलियो सञ्जालमार्फत बजारमा उच्च गुणस्तरका ग्लेज्ड भिट्रिफाइड, सेरामिक वाल तथा हेभी ड्युटी भिट्रिफाइड टायल्सलगायतका विभिन्न उत्पादनहरू बिक्री वितरण गर्दै आएको छ।


