नेपाल विद्युत् प्राधिकरणको ग्रिड विकास तथा प्रसारण लाइन निर्माण आयोजनाका लागि रोल्पाका विभिन्न क्षेत्रका निजी जग्गाहरू अधिग्रहण गरिएकाले जिल्ला प्रशासन कार्यालय, रोल्पाले मुआब्जा वितरण सम्बन्धी ७५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
विशेषगरी रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिका अन्तर्गतका ७० भन्दा बढी कित्ता जग्गाहरू यस आयोजनाबाट प्रभावित भएका छन्, जसको विस्तृत विवरण (कित्ता नम्बर, जग्गाधनी एवं बाबु–बाजेको नाम र क्षेत्रफल) सूचनामा उल्लेख गरिएको छ। प्रभावित जग्गाधनी वा उनका कानुनी हकवालालाई आवश्यक प्रमाणसहित ७५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई मुआब्जा दाबी गर्न आग्रह गरिएको छ। यदि जग्गाधनी आफैं उपस्थित हुन नसक्ने अवस्था भएमा कानुनबमोजिमको मञ्जुरीनामा, वारेशनामा वा हक हस्तान्तरणसम्बन्धी प्रमाणपत्रका साथ प्रतिनिधिमार्फत पनि यो प्रक्रिया पूरा गर्न सकिने व्यवस्था मिलाइएको छ।


