Banijya News

साउदी राजदूतसँग उद्योग समितिका सभापति अन्सारीको भेटवार्ता

1
1.1K Shares

प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरबीच दुई देशको पाँच दशक लामो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने विषयमा भेटवार्ता भएको छ। उक्त अवसरमा उद्योग, वाणिज्य तथा श्रम क्षेत्रमार्फत आपसी हित प्रवर्द्धन गर्नेबारे विस्तृत छलफल भयो। विशेष गरी साउदीमा कार्यरत नेपाली श्रमिकहरूले सामना गरिरहेका समस्याहरू जस्तै— बिचौलिया तथा म्यानपावरबाट हुने ठगी, सीपको कमी र सम्झौता अनुरूपको काम नपाउने अवस्थाको अन्त्य गर्नेबारे संवाद भएको थियो। यसै सन्दर्भमा राजदूतले साउदी सरकारको श्रमिक सीप परीक्षण र व्यवस्थापन सम्बन्धी ‘एसभीपी’ कार्यक्रमबारे जानकारी गराए  ।

श्रमिकहरूको सुरक्षा, रोजगारीको सुनिश्चितता र सीप विकासका लागि आवश्यक नीतिगत सुधार गर्न संसदीय समितिले नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता सभापति अन्सारीले व्यक्त गरे । भेटका क्रममा साउदी अरबबाट नेपालमा हुन सक्ने लगानीका अवसरहरूबारे समेत चर्चा भएको थियो। नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको औंल्याउँदै राजदूत मिएखरले साउदी सरकार र त्यहाँका लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए। लगानी आकर्षित गर्न आवश्यक पर्ने कानुनी एवं नीतिगत सहजीकरणका लागि सभापति अन्सारीले राजदूतमार्फत साउदी पक्षलाई आश्वस्त पारेका छन ।

यसका साथै दुई देशबीच व्यापार, वातावरण, हवाई सम्पर्क र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा पनि महत्त्वपूर्ण कुराकानी भएको छ। विशेष गरी हरेक वर्ष नेपालबाट मक्का(मदिना जाने हज यात्रीहरूको यात्रालाई थप व्यवस्थित बनाउन र उनीहरूले भोग्ने व्यावहारिक समस्याहरू समाधान गर्न दुवै पक्ष सहमत भएका छन्। बैठकको अन्त्यमा आगामी दिनहरूमा नेपाल र साउदी अरबका संसदीय समितिहरूबीचको आपसी संवाद, समन्वय र सहकार्यलाई अझ सुदृढ एवं फराकिलो बनाउने प्रतिबद्धता जनाइएको छ।

1

Scroll to Top