Banijya News

इन्टरनेशनल चेम्बर अफ कमर्सको सदस्य बन्यो मोरङ उद्योग व्यापार संघ

1
1.1K Shares

नेपालकै सबैभन्दा पुरानो व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा एउटा ऐतिहासिक फड्को मारेको छ। विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको व्यापारिक संगठन ुइन्टरनेशनल चेम्बर अफ कमर्सु (आईसीसी) ले संघलाई आफ्नो नयाँ सदस्यका रूपमा मनोनित गरेको छ। सन् २०२५ देखि लागू हुने गरी प्राप्त भएको यस सदस्यतासँगै मोरङ उद्योग व्यापार संघ अब विश्वका एक सयभन्दा बढी मुलुकका उद्योग वाणिज्य संघ र करोडौँ व्यावसायिक प्रतिष्ठानहरू जोडिएको वैश्विक सञ्जालमा प्रत्यक्ष रूपमा आबद्ध भएको छ।

संघका अध्यक्ष अनुपम राठीले यस उपलब्धिलाई नेपाली उद्योग र व्यवसाय क्षेत्रका लागि एउटा नयाँ अवसरको ढोका खुल्नुका साथै सम्पूर्ण मुलुककै लागि गौरवको विषय भएको बताएका छन्। आईसीसीको सदस्यता प्राप्त भएसँगै अब नेपाली उद्योगी व्यवसायीहरूले विश्वस्तरीय सेवा र सुविधाहरू सोझै उपयोग गर्न पाउने भएका छन्। अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, विदेशी लगानी, बौद्धिक सम्पत्ति अधिकार र डिजिटल अर्थतन्त्र जस्ता महत्त्वपूर्ण वैश्विक विषयहरूमा हुने छलफलहरूमा अब नेपाली निजी क्षेत्रको आधिकारिक सहभागिता सुनिश्चित हुनेछ। यसले गर्दा अन्तर्राष्ट्रिय नीति निर्माण र पैरवीको प्रक्रियामा नेपाली व्यवसायीका सुझाव र धारणाहरू समावेश गराउन निकै सहज हुने विश्वास गरिएको छ।

यसका साथै नेपाली निर्यातकर्ताहरूले अस्थायी आयात(निर्यातलाई सहज बनाउने आईसीसीको बहुप्रतीक्षित ुएटीए कार्नेटु प्रणाली अब मोरङ उद्योग व्यापार संघमार्फत नै उपभोग गर्न सक्नेछन्। अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक पर्ने मापदण्ड अनुसारका प्रमाणपत्र र व्यावसायिक सिफारिसहरू पनि संघबाटै उपलब्ध गराइनेछ। यस ऐतिहासिक सहकार्यले नेपाली व्यवसायीहरूलाई विश्वका सयभन्दा बढी देशका चेम्बरहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराई व्यापार मेला, व्यावसायिक बैठक र बीटूबी म्याच मेकिङ जस्ता कार्यक्रमहरूमा सहभागी हुने सुनौलो अवसर प्रदान गर्नेछ।

यति मात्र नभई, संघ र यसका सदस्य प्रतिष्ठानहरूले आईसीसी अन्तर्गतको वर्ल्ड चेम्बर्स फेडरेशन ९डब्लुसीएफ० द्वारा सञ्चालित चेम्बर मेन्टरशिप कार्यक्रम, क्षमता अभिवृद्धि कार्यशाला र नवप्रवर्तन पुरस्कारहरूमा समेत भाग लिन पाउनेछन्। आईसीसीका विश्वप्रसिद्ध बजार पोर्टल, अनुसन्धानात्मक प्रतिवेदन र व्यावसायिक अध्ययन सामग्रीहरूमा पहुँच पुग्ने भएकाले विशेष गरी साना तथा मझौला उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजार बुझ्न र विस्तार गर्न ठूलो सहयोग पुग्नेछ। त्यस्तै, व्यापारिक क्षेत्रमा आइपर्ने अन्तर्राष्ट्रिय विवादहरू समाधानका लागि आईसीसीको प्रख्यात मध्यस्थता सेवा उपयोग गर्ने बाटो समेत नेपाली व्यवसायीका लागि खुलेको छ।

अध्यक्ष राठीका अनुसार यो सफलताले नेपाली उत्पादन र सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन, निर्यात प्रवर्द्धन गर्न र नेपालमा विदेशी लगानी आकर्षित गर्न मेरुदण्डको काम गर्नेछ। अबका दिनमा संघले अन्तर्राष्ट्रिय मञ्चहरू मार्फत नेपाली उत्पादनको प्रवर्द्धन गर्ने, सुरक्षित एवं दिगो व्यावसायिक वातावरण निर्माण गर्ने र समग्र नेपालकै व्यापारिक पहुँचलाई विश्वस्तरमा विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको छ।

1

Scroll to Top