अबको प्राथमिकता विद्युत उत्पादनसँगै यसको भरपर्दो आपूर्ति र वितरणमा हुनुपर्ने ऊर्जा मन्त्रालयको निष्कर्ष छ। नेपाल आर्थिक पत्रकार सङ्घ (फिज) को कार्यक्रममा बोल्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जीर्ण पूर्वाधारका कारण पर्याप्त बिजुली हुँदा पनि केही ठाउँमा लाइन काटिने समस्या रहेको स्वीकार गरे। यसको समाधानका लागि नयाँ आर्थिक वर्ष २०८३/०८४ मा विद्युतीय पूर्वाधारका लागि मात्र करिब ८० अर्ब रुपैयाँ खर्च गर्ने बजेट योजना बनाइएको छ। यसबाहेक विद्युत प्राधिकरणले आफ्नो आन्तरिक स्रोत पनि लगानी गर्नेछ भने सरकारले आगामी वर्षभित्र १२ वटा महत्त्वपूर्ण प्रशारण लाइनको निर्माण सम्पन्न गर्दै थप ८ सय सर्किट किलोमिटर लाइन विस्तार गर्ने लक्ष्य राखेको छ।
हाल नेपालमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत करिब ४६० किलोवाट घण्टा रहेकामा आगामी १० वर्षभित्र यसलाई १ हजार ५ सय किलोवाट घण्टा पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य लिइएको छ। सरकारले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति २०८३’ कार्यान्वयनमा ल्याउँदै उद्योग, यातायात र कृषि क्षेत्रमा बिजुलीको उपयोग बढाउने योजना बनाएको छ। आन्तरिक खपतलाई प्राथमिकतामा राख्दै भारततर्फ १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन लक्ष्य प्राप्तिका लागि सीमापार प्रसारण लाइन विस्तारको काम भइरहेको छ, जसले देशको अर्थतन्त्रलाई बलियो बनाउने विश्वास गरिएको छ।
ऊर्जा क्षेत्रमा पहिलो पटक उदारीकरणको नीति अपनाउँदै सरकारले निजी क्षेत्रलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने गरी कानुनी व्यवस्था गर्दैछ। अब निजी क्षेत्रले आफ्नै लगानीमा प्रसारण लाइन बनाएर ‘ह्विलिङ चार्ज’ तिर विद्युत व्यापार गर्न सक्नेछन्। जलाशययुक्त आयोजनामा आकर्षण बढाउन लाइसेन्स अवधि ५० वर्ष पुर्याइएको छ भने लगानी सुनिश्चित भएमा पहिलो वर्षमै ४० प्रतिशतसम्म आईपीओ जारी गर्न पाउने व्यवस्था गरिएको छ। १० मेगावाटभन्दा कमका आयोजनाको पीपीए खुला गरिएको जानकारी दिँदै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको रूपान्तरणका लागि नयाँ विद्युत ऐन ल्याउने प्रक्रियालाई तीव्रता दिएको बताए।


