Banijya News

जलविद्युतमा बुद्धभूमिको ठूलो छलाङ : ६४ मेगावाटका दुई आयोजनामा लगानी गर्दै

1
1.1K Shares

कम्पनीको लगानी विस्तार गर्ने रणनीतिअनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले कुल ६४ मेगावाट क्षमताका दुई नयाँ जलविद्युत आयोजनाहरूमा लगानी गर्ने भएको छ। दीर्घकालीन आम्दानी बढाउने र उत्पादन क्षमता थप्ने लक्ष्यका साथ कम्पनीले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेका यी आयोजनाहरूमा सहभागिता जनाउन लागेको हो।

यस सम्झौताअन्तर्गत सिन्धुज्वाला हाइड्रोपावरले अघि बढाएका दुई मुख्य आयोजनाहरू— ४३ मेगावाट क्षमताको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ‘ए’ जलविद्युत आयोजना रहेका छन्। बुद्धभूमिको प्रवेशले यी दुवै आयोजनाको निर्माण तथा विकासमा महत्त्वपूर्ण आर्थिक एवं प्राविधिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस लगानीका लागि बुद्धभूमि नेपाल हाइड्रोको गत साउन ५ गते बसेको सञ्चालक समिति बैठकले महत्त्वपूर्ण निर्णय गरेको हो। सञ्चालक समितिको उक्त बैठकले सिन्धुज्वाला हाइड्रोपावरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी बहुमत शेयर खरिद गर्ने तथा रणनीतिक लगानी गर्ने निर्णय पारित गरेको छ।

पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा आफ्नो आयोजना पोर्टफोलियो वृद्धि गर्न र व्यवसायलाई थप मजबुत बनाउन कम्पनीहरूबीच आपसमा सहकार्य तथा रणनीतिक लगानी गर्ने क्रम बढ्दो छ। बुद्धभूमिको यो कदमले पनि जलविद्युत क्षेत्रमा उसको उपस्थिति थप बलियो बनाउनुका साथै सेयरधनीहरूका लागि दीर्घकालीन प्रतिफल सुनिश्चित गर्न मद्दत पुग्नेछ।

1

Scroll to Top