जावलाखेल डिस्टिलरीले गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ। कम्पनीको विगतका वर्षहरूको कारोबार उतारचढावपूर्ण देखिएको छ, जसअनुसार सन् २०२५ मा १ अर्ब ६४ करोड ५० लाख र सन् २०२४ मा १ अर्ब १० करोड रुपैयाँ को व्यापार भएको थियो।
यसअघि सन् २०२३ मा २ अर्ब १२ करोड ९० लाख, सन् २०२२ मा २ अर्ब ८ करोड ५० लाख र सन् २०२१ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँ को बिक्री दर्ज भएको थियो। कम्पनीले आफ्नो नाफाको दर र ऋण भुक्तानी क्षमतामा उल्लेख्य सुधार ल्याएको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा मार्जिन ३१ प्रतिशत पुगेको छ, जुन सन् २०२५ मा २७ प्रतिशत थियो भने सन् २०२४ मा ऋणात्मक अवस्थामा थियो।
हाल कम्पनीको ऋण सेवा कवरेज अनुपात ४ गुणा र ब्याज कवरेज अनुपात ७।५ गुणा रहेको छ, जसले वार्षिक ब्याज र किस्ता तिर्न सक्ने सबल स्थिति दर्शाउँछ। साथै, कम्पनीको कुल ऋण र ट्यान्जिबल नेटवर्थको अनुपात १.९ गुणा रहेको छ।
सन् २०१३ मा स्थापना भएको यस कम्पनीलाई पहिले विजय डिस्टिलरीका नामले चिनिन्थ्यो। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत चार दशकभन्दा बढीको अनुभव बोकेको यस उद्योगले ब्लेन्डिङ र बोटलिङ युनिटमार्फत मुख्यतया चार प्रकारका मदिराजन्य उत्पादन बजारमा ल्याउँदै आएको छ। जसमा ब्राउन स्पिरिटतर्फ कालापत्थर, ह्वाइट स्पिरिटतर्फ रुस्लान भोड्का र ब्ल्यू डाइमन्ड, तथा रेडी(टु(ड्रिंक खण्डमा रुस्लान आइस टी समावेश छन्।
उद्योगपति विजयकुमार साहको पूर्ण स्वामित्वमा सञ्चालित यस डिस्टिलरीको व्यापारिक उपस्थिति देशभर फैलिएको छ, जहाँ यसका २ सय ४० भन्दा बढी शाखाहरू कार्यरत छन्। कम्पनीले आफ्नो अल्पकालीन तथा दीर्घकालीन कर्जा प्रयोजनका लागि कुल १ अर्ब ३४ करोड ७० लाख रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ। जसअन्तर्गत दीर्घकालीन ऋणका लागि ४७ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८७ करोड ५० लाख रुपैयाँ को रेटिङ समावेश छ।


