Banijya News

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु, विद्युतीय सवारी मुख्य आकर्षण

1
1.0K Shares

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ। आगामी साउन ३१ गते अर्थात् अगस्ट १६ सम्म सञ्चालन हुने एक्स्पोमा बहुराष्ट्रिय तथा स्वदेशी सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ।

नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा विद्युतीय सवारीसाधनलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। प्रदर्शनीमा विभिन्न प्रतिष्ठित ब्रान्डका पछिल्ला मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन राखिएका छन्।

नेपाली बजारमा पहिलोपटक प्रवेश गर्न लागेका केही नयाँ मोडल तथा अत्याधुनिक प्रविधिसमेत एक्स्पोमार्फत सार्वजनिक गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। विद्युतीय सवारीको प्रविधि, क्षमता, डिजाइन र प्रयोगका सम्भावनाबारे उपभोक्ताले प्रत्यक्ष जानकारी लिन सक्ने गरी प्रदर्शनीको व्यवस्था गरिएको छ।

पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको अवस्थामा आयोजना गरिएको एक्स्पोले बजारमा उपलब्ध विभिन्न विकल्पलाई एकै स्थानमा ल्याएको छ। यसले उपभोक्तालाई आफ्नो आवश्यकता र बजेटअनुसार सवारीसाधन छनोट गर्न सहज हुने आयोजकको विश्वास छ।

सवारीसाधन खरिद प्रक्रियालाई थप सहज बनाउन एक्स्पोस्थलमै विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको सहभागिता रहेको छ। ती संस्थाले उपभोक्ताका लागि विशेष छुट तथा सहुलियतपूर्ण कर्जा योजनासमेत उपलब्ध गराइरहेका छन्। यसबाट सवारी खरिद गर्न चाहने ग्राहकले वित्तीय सुविधा र बीमा योजनाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

एक्स्पोमा सवारीसाधनसँग सम्बन्धित पार्टपुर्जा, आधुनिक ब्याट्री, चार्जिङ स्टेसनका प्रविधि, विभिन्न एक्स्ट्रा तथा एक्सेसरिजका स्टलसमेत राखिएका छन्। यसले सवारीसाधन खरिदकर्तासँगै अटोमोबाइल क्षेत्रमा रुचि राख्ने व्यवसायी र सर्वसाधारणलाई समेत नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी लिने अवसर दिएको छ।

नेपालमा हरित ऊर्जा र विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेको सन्दर्भमा एक्स्पोले अटोमोबाइल क्षेत्रलाई थप प्रविधिमैत्री र वातावरणअनुकूल दिशातर्फ अघि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार एक्स्पोले नेपालमा विद्युतीय तथा दिगो यातायात प्रणालीको सम्भावना, नयाँ प्रविधि र बजारमा उपलब्ध विकल्पबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी गराउने महत्वपूर्ण मञ्चका रूपमा काम गर्नेछ।

एक्स्पो सर्वसाधारणका लागि दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ। प्रदर्शनीमा सवारीसाधनको अवलोकनसँगै नयाँ प्रविधि, वित्तीय सुविधा, चार्जिङ पूर्वाधार तथा अटोमोबाइल बजारका पछिल्ला गतिविधिबारे जानकारी लिन सकिनेछ।

1

Scroll to Top