गो अटोमोबाइल्स प्रा.लि.ले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा एमजीको नयाँ प्रिमियम एसयूभी ‘एमजी म्याजेस्टर’ सार्वजनिक गरेको छ। जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्सका अनुसार यो नेपालमा सार्वजनिक भएको एमजीको अहिलेसम्मकै ठूलो, शक्तिशाली र प्रिमियम डी-प्लस सेग्मेन्टको गाडी हो।
५ मिटरभन्दा बढी लम्बाइ, २ मिटर चौडाइ र १.९ मिटर उचाइ रहेको यस एसयूभीमा ल्याडर-फ्रेम बनावट, बोल्ड ग्रिल, २१९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स तथा अल-टेरेन टायर प्रयोग गरिएको छ। यसमा २.० लिटरको ट्विन-टर्बो डिजेल इन्जिन रहेको छ, जसले २१५.५ पिएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ। ८-स्पिड अटोमेटिक ट्रान्समिसन रहेको यो गाडी फोर-बाय-टु र फोर-बाय-फोर दुवै विकल्पमा उपलब्ध छ।
अफ-रोड क्षमताका लागि यसमा स्यान्ड, स्नो, मड र रकसहित १० वटा ड्राइभिङ मोड, तीनवटा डिफरेन्सियल लक र ८१० मिलिमिटरको वाटर वेडिङ क्षमता दिइएको छ। त्यसैगरी, ६ र ७ सिटको कन्फिगरेसनमा उपलब्ध यस गाडीमा मल्टि-मोड मसाज तथा भेन्टिलेसन सिट, प्यानोरमिक ग्लास रुफ, १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ७५ भन्दा बढी कनेक्टेड फिचर्स समावेश छन्।
सुरक्षाका लागि यस एसयूभीमा ६ वटा एयरब्याग, लेभल-२ एडास, ३६० डिग्री क्यामेरा र इलेक्ट्रोनिक पार्किङ ब्रेक जडान गरिएको छ। एक्स्पोको अवसरमा गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको पूर्ण बिमा, प्रिमियम एसेसरिज र सामसङ ग्यालेक्सी एस.२६ अल्ट्रा जित्ने लक्की ड्रसहित कुल १५ लाख ५० हजार रुपैयाँसम्मको विशेष छुट योजना सार्वजनिक गरेको छ।
गो अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले म्याजेस्टर नेपाली बजारका लागि एक नयाँ स्तरको शक्तिशाली एसयूभी भएको बताए। कम्पनीले ग्राहकलाई गाडी बिक्रीसँगै ललितपुरको धोबीघाटस्थित वर्कसप, देशव्यापी सर्भिस नेटवर्क, २४ घण्टे रोडसाइड असिस्टेन्स र ५ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ।

