वैदेशिक रोजगार विभागले मलेसियातर्फ श्रमिक पठाउने २५० वटा म्यानपावर कम्पनीको नयाँ पूर्वस्वीकृति प्रक्रिया तत्कालका लागि रोक लगाएको छ । विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा मुख्य श्रमिक भर्ना संस्थाको रूपमा सूचीकृत २५ वटा र ती अन्तर्गत सहयोगी संस्थाका रूपमा जोडिएका २५० वटा संस्थाको आबद्धता तथा छनोट प्रक्रियामाथि प्रश्न उठेएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन र भदौ २६ को मन्त्रीस्तरीय निर्णयअनुसार यो कदम चालिएको हो ।
विभागका महानिर्देशक नवराज ढकालका अनुसार प्रणालीभित्र रहेका मुख्य र सहयोगी संस्थाहरूको कारोबार, विगतको कार्यशैली तथा समूहगत एकाधिकार वा निष्पक्ष प्रतिस्पर्धा सीमित गर्ने खालका गतिविधिहरूको विस्तृत छानबिन भइरहेको छ । सोही प्रयोजनका लागि ती २५० वटै संस्थाहरूलाई उक्त प्रणालीमा आबद्ध हुनुको स्पष्ट आधार, प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्ध खुलाउन आधिकारिक स्पष्टीकरण माग गरिएको छ ।
छानबिनको काम पूर्ण रूपमा सम्पन्न नभएसम्म प्रभावित म्यानपावरहरूले मलेसियाका लागि कुनै पनि नयाँ पूर्वस्वीकृति प्राप्त गर्न सक्ने छैनन् । यद्यपि, यो निर्णयले यसअघि नै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिइसकेका श्रमिकहरूलाई भने कुनै असर पार्ने छैन र उनीहरूको मलेसिया जाने यात्रा नियमित रूपमा अगाडि बढ्नेछ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३७ बमोजिम जारी निर्देशन पालना गर्न अटेर गरे वा एकाधिकार सिर्जना गरेको पाइएमा दफा ५४ अनुसार इजाजतपत्र खारेजसम्मको कडा कारबाही हुने विभागले चेतावनी दिएको छ । मलेसियासँगको श्रम आप्रवासनलाई पूर्ण रूपमा पारदर्शी र प्रतिस्पर्धी बनाउन नेपाल सरकारले द्विपक्षीय कूटनीतिक तथा प्रशासनिक माध्यमबाट समेत संवाद तीव्र पारिरहेको छ ।


