स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्ण रूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ । मंगलबार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’का रूपमा लिएर उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने बताएका हुन् ।
हाल नेपालको आन्तरिक उत्पादनले कुल मागको करिब ४० देखि ५० प्रतिशत मात्र धानिरहेको उनको भनाइ छ । उनले स्वदेशी उद्योगहरूले उत्पादन क्षमता बढाएर बाहिरबाट आयात हुने औषधिलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । मन्त्रालयले स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राखेर खरिद गर्न चाहेको स्पष्ट पार्दै डा. दासले मूल्य र गुणस्तरमा भने उद्योगीहरूले सम्झौता गर्न नहुने बताए ।
“हामीलाई सस्तो, गुणस्तरीय र पर्याप्त औषधि चाहिएको छ । पहिलो चरणमा सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू स्वदेशी उद्योगले नै उत्पादन गरिदिउन् भन्ने मन्त्रालयको चाहना छ,” उनले भने, “यसले गर्दा स्थानीय गाउँ तहसम्म सर्वसुलभ रूपमा औषधि पुग्न सकोस् । हामीले अहिले ४०–४५ वटा औषधि मात्र आफैँ बनाउन सक्छौँ भनेर बस्ने होइन, क्षमता विस्तार नगरी बाहिरबाट आउने औषधिलाई प्रतिस्थापन गर्न सकिँदैन ।” सामाजिक उत्तरदायित्व बहन गर्दै सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराएमा राज्यले उद्योगीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने उनको भनाइ छ ।
नेपाली औषधि उद्योगहरूले उत्पादन गरेका औषधिको गुणस्तर राम्रो हुँदाहुँदै पनि बजारमा ‘गुणस्तरहीन’ भन्ने भ्रम फैलिएको भन्दै उनले चिन्ता व्यक्त गरे । डा. दासले यस्ता भ्रम र हल्लाहरूलाई चिर्न प्रभावकारी सञ्चार र एड्भोकेसीको आवश्यकता रहेको बताए । दासले विपद्को समयमा प्रयोग हुने ‘रिस्क कम्युनिकेसन एन्ड कम्युनिटी इन्गेजमेन्ट’ मोडल जस्तै औषधिको गुणस्तरको विषयमा पनि जनतालाई सुसूचित गर्नुपर्ने बताए । स्वदेशी औषधिको गुणस्तर राम्रो छ भनेर जनतालाई बुझाउनसके मन्त्रालय र उत्पादनकर्ता दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ ।
“हामी गुणस्तरीय औषधि उत्पादन गर्छौं भन्छौँ, आपूर्ति महाशाखाले किन्छ पनि, तर बाहिर गुणस्तरहीन औषधि किनियो भन्ने कुरा आउँछ । यस्तो किन भइरहेको छ ? पक्कै पनि हाम्रो सञ्चार र एड्भोकेसी पुगेन । रुमरलाई न्यूनीकरण गर्न सञ्चारलाई बलियो बनाउनैपर्छ । यसले गर्दा स्वदेशी उत्पादनप्रति जनताको विश्वास बढ्छ र उद्योगलाई पनि फाइदा हुन्छ,” उनले भने ।
मन्त्रालयले नेपाली औषधि उद्योगहरूलाई बजारको कुनै अभाव नरहेको भन्दै उत्पादन बढाउन आग्रह गरेको छ । हाल नेपालमा सञ्चालित ‘स्वास्थ्य विकमा कार्यक्रम’ नै औषधिको सबैभन्दा ठूलो खपतकर्ता भएको भन्दै उत्पादित औषधि सजिलै खपत हुने बताए । स्वदेशी उद्योगहरूले उत्पादन बढाएमा बजार नपाउने भन्ने समस्या नै नरहेको स्पष्ट पारे ।


