रवि लामिछाने र बालेन साहबीच सहमति भएसँगै आगामी फागुन २१ मा हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत ल्याउने महत्वाकांक्षी योजनामा जुटेको छ । रास्वपाका सभापति लामिछानेले बालेनलाई भावी प्रधानमन्त्री बनाउने गरी पार्टीमा समाहित गरेका हुन् । साथै, कूलमान घिसिङ सम्मिलित उज्यालो नेपाल पार्टीसमेत रास्वपामै समाहित भएको छ । यसले गर्दा पनि रास्वपा अहिलेसम्मका ठूला राजनीतिक दलहरु काँग्रेस, एमाले आदिलाई टक्कर दिन सक्ने नयाँ शक्तिका रुपमा उदाउने सम्भावना देखिन्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत जुटाउन कम्तीमा १३८ सिट आवश्यक पर्छ । दलले एकल बहुमत ल्याउने र गठबन्धनमा बहुमत सिद्ध गरे मात्रै प्रधानमन्त्री बन्न सरकारमा दाबी गर्न सकिन्छ । त्यसअघि प्रतिनिधिसभाको निर्वाचन जित्नुपर्छ ।
२०७९ को स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेनका लागि प्रतिनिधिसभा निर्वाचन नयाँ हो । उनी कुन क्षेत्रबाट उठ्छन् भन्ने टुङ्गो अझै लागेको छैन ।
दल खोलेको ६ महिनामै अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा रास्वपा पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो । २० सिट जितेर राष्ट्रिय राजनीतिमा तहल्का मच्चाएको रास्वपा संसद्मा चौथो शक्ति बनेको थियो । २०७९ मा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको थियो । एमालेले ४४ र ३४ गरी ७८, माओवादीले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सिट जितेको थियो ।
२०७९ को आमनिर्वाचनमा पहिलोपटक भाग लिएको रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको थियो । उपनिर्वाचनमा एक बढाउँदा रास्वपाले २१ सिट जितेको थियो । राप्रपा प्रत्यक्ष र समानुपातिक दुवैमा ७÷७ गरी १४ सिटसहित पाँचौँ ठूलो शक्ति भएको थियो । त्यसपछि तत्कालीन जसपा पार्टी नेपालले प्रत्यक्षमा ७ र समानुपातिक ५ गरी १२ सिट जितेको थियो ।
काँग्रेस र माओवादीसँगको तालमेलमा तत्कालीन नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा मात्रै १० सिट जितेको थियो । उसले समानुपातिकमा एक सिट पनि प्राप्त गर्न सकेन । निर्वाचनमा काँग्रेस, माओवादी र नेकपा एससहितका दल मिलेका थिए । एमालेले पनि राप्रपा र जसपा नेपालसँग तालमेल गरेको थियो ।
समानुपातिकतर्फ सबैभन्दा बढी ३४ सिट जितेको एमालेले २८,४५,६४१ मत प्राप्त गरेको थियो । ३२ सिट पाउँदा काँग्रेसको मत २७ लाख १५ हजार २२५ रहेको थियो । माओवादीले ११ लाख ७५ हजार ६८४ मत ल्याएको थियो ।
त्यस्तै, रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेर १३ सिट पाएको थियो । राप्रपाले समानुपातिकतर्फ ५ लाख ८८ हजार ८४९ मत पाएर ७ सिट जितेको थियो । जसपाले ४ लाख २१ हजार ३१४ मत प्राप्त गर्दा ५ सिट पाएको थियो । यसैगरी, जनमतले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी ६ सिट ल्याएको थियो । नागरिक उन्मुक्तिले ३, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नेमकिपाले १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका थिए । उक्त निर्वाचनमा ५ जना स्वतन्त्रबाट विजयी भएका थिए ।
यसपटक रवि, बालेन र कूलमान मिलिसकेका छन् भने अन्य दलहरुले चुनावी गठबन्धन गरिसकेका छैनन् । वैकल्पिक शक्ति मिल्दा काँग्रेस, एमाले र माओवादी आदि मुख्य राजनीतिक दलहरु पनि फेरि मिलेर निर्वाचनमा होमिएलान्, यसका लागि केही समय कुर्नुपर्नेछ ।


