ईश्वर श्रेष्ठ
धनकुटा केवल एउटा जिल्ला होइन। यो पूर्व नेपालको गौरवशाली इतिहास, सभ्यता र प्रशासनिक केन्द्रको विरासत बोकेको भूमि हो। कुनै समय नीति, शिक्षा र प्रशासनमा मार्गदर्शक भूमिका खेलेको धनकुटा आज आफ्नै पहिचान जोगाउन संघर्षरत देखिन्छ। समयको कालखण्डसँगै यो बिरासत ओझेलमा त पर्दै छैन ? भन्ने प्रश्न आज प्रत्येक सचेत धनकुटेलीको मनमा उब्जिएको छ।
यस्तो संक्रमणकालीन घडीमा धनकुटालाई अब आश्वासनको भारी बोकेर हिँड्ने ‘शासक’ होइन, जनताको पीडालाई आफ्नो संकल्प बनाउने साहसी सारथी चाहिएको छ। यही आवश्यकताको कसीमा खरो उत्रिएको नाम हो—दिनेश राई।
भुइँतहबाट उब्जिएको नेतृत्व
दिनेश राई कुनै राजनीतिक विरासत, सिफारिस वा ‘शर्टकट’ बाट जन्मिएको नाम होइन। उनी लोपोन्मुख आठपहरिया राई समुदायको एक साधारण परिवारमा जन्मिएर हुर्किएका व्यक्ति हुन्। अभाव, उपेक्षा र राज्यको पहुँचभन्दा बाहिर रहनु कस्तो हुन्छ भन्ने यथार्थ उनले नजिकबाट भोगेका छन्। उनको राजनीतिक चेतना किताबबाट होइन, धनकुटाको माटो, किसानको पसिना र युवाको संघर्षबाट बनेको हो। यही जीवन भोगाइले उनलाई सत्ता केन्द्रित होइन, सरोकार केन्द्रित राजनीतितर्फ डो¥याएको छ।
पदभन्दा माथि धनकुटाको स्वाभिमान
धनकुटाको विकास नाराले होइन, अडान र निर्णय क्षमताले हुन्छ भन्ने कुरा दिनेश राईले व्यवहारमै प्रमाणित गरेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारका समस्यालाई उनले बाहिरबाट होइन, भित्रबाट बुझेका छन्।
पूर्वाञ्चलको राजधानी धनकुटाबाट सारिँदै गर्दा धेरै स्थापित नेताहरू आफ्नै पार्टीको सरकार र शक्तिको अगाडि मौन बसे। तर दिनेश राईले आफ्नो राजनीतिक भविष्यको परवाह नगरी आफ्नै पार्टी नेतृत्वसँग स्पष्ट असहमति जनाए। “व्यक्ति र पदभन्दा धनकुटाको हित ठूलो हो” भन्ने उनको अडानले उनीसँग सम्झौतावादी होइन, न्याय र विद्रोहको चेत रहेको स्पष्ट ग¥यो।
पार्टी सुधार र पुस्तान्तरणको दृढ अडान
दिनेश राई क्षेत्रीय मुद्दामा सीमित नेता मात्र होइनन्। उनले नेपाली कांग्रेसभित्र नीति र नेतृत्व दुवै परिवर्तन हुनुपर्छ भन्ने स्पष्ट एजेन्डालाई निरन्तर अघि सारे। विशेष महाधिवेशनको पक्षमा खेलेको भूमिका पार्टी सुधारप्रतिको उनको प्रतिबद्धताको प्रमाण हो।
उनी युवालाई नारा बनाउने होइन, निर्णय तहमा पु¥याउने नेतृत्व आवश्यक छ भन्ने मान्यता राख्छन्। पारदर्शिता, जवाफदेहिता र पुस्तान्तरण बिना राजनीतिक संस्कार बदलिँदैन भन्ने उनको बुझाइ आजको कांग्रेस र समग्र लोकतन्त्रका लागि सान्दर्भिक छ।
कृषि र पर्यटन : धनकुटाको समृद्धिको मेरुदण्ड
आज धनकुटाका युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन्। कृषि सम्भावना हुँदाहुँदै पनि किसानले उत्पादनको उचित मूल्य पाएका छैनन्। यसको कारण उत्पादनको कमी होइन, बजार, प्रविधि र नीति समन्वयको अभाव हो। दिनेश राईसँग यी समस्याको समाधानका लागि भावनात्मक नारा होइन, स्थानीय यथार्थमा आधारित संरचनागत दृष्टिकोण छ।
धनकुटाको एभोकाडो, सुन्तला, किबी, अदुवा, अलैंची र डल्ले खोर्सानी जस्ता पहिचान बोकेका नगदे बालीलाई आधुनिक उत्पादन, प्रशोधन, भण्डारण र बजारसँग जोड्ने स्पष्ट खाका उनको प्राथमिकतामा छ। किसानलाई अनुदानमा निर्भर बनाउने होइन, मूल्य श्रृंखलामा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति उनले अघि सारेका छन्।
त्यसैगरी, कृषि र पर्यटनलाई एक–अर्कासँग जोड्ने एग्रो–टुरिजम मोडेलमार्फत धनकुटालाई उत्पादन र गन्तव्य दुवैका रूपमा विकास गर्ने सम्भावना प्रशस्त छ। मौलिक संस्कृति, स्थानीय उत्पादन, परम्परागत खानपान र प्राकृतिक सौन्दर्यलाई एउटै विकास प्याकेजमा समेट्न सकियो भने यसले रोजगारी सिर्जना मात्र होइन, धनकुटाको अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सबल बनाउने आधार तयार गर्छ।
समयको माग, भविष्यको भरोसा
दिनेश राई त्यो पुस्ताका प्रतिनिधि हुन् जसले राजनीतिलाई पद होइन, सेवा र जिम्मेवारीका रूपमा बुझेका छन्। उनी भाषणपछि हराउने नेता होइनन्, प्रश्न उठेपछि भाग्ने नेता होइनन्। गलत देख्दा चुप लाग्नु बुद्धिमानी होइन भन्ने विश्वास नै उनको राजनीतिक चरित्र हो।
आज धनकुटालाई संसदमा उभिएर आफ्ना मुद्दा स्पष्ट रूपमा राख्न सक्ने, आवश्यक परे टकराउन सक्ने प्रतिनिधि चाहिएको छ। दिनेश राईको उम्मेदवारी कुनै एक व्यक्तिको राजनीतिक यात्रा मात्र होइन, धनकुटाको गुमेको आत्मविश्वास र गरिमा फिर्ता ल्याउने प्रयास हो। धनकुटालाई अब व्यक्तिको वरिपरि घुम्ने राजनीति होइन, नीति केन्द्रित र परिणाममुखी नेतृत्व चाहिएको छ। जो पार्टीभन्दा माथि उठेर क्षेत्रको पक्षमा बोल्न सकोस्। जो युवाको सपना, किसानको पीडा र जिल्लाको पहिचानलाई केन्द्रमा राखेर संसदमा उभिन सकोस्।
दिनेश राईको उम्मेदवारी धनकुटाका लागि केवल गौरव होइन—भविष्य सुरक्षित गर्ने अवसर हो। यो नारा मात्र होइन, जिम्मेवारी हस्तान्तरणको व्यवहारिक अभ्यास हो।
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।)


