आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धनकुटाले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा बाँदर नियन्त्रणका लागि व्यावसायिक रूपमा बाँदर पालन गरी मासु तथा सुकुटी उत्पादन गरेर विदेश निर्यात गर्ने प्रतिबद्धता गरेको छ । धनकुटा जिल्लाको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपाले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धर्मराज पौडेल लाई उम्मेदवार बनाएको छ। उम्मेदवार पौडेलले किसानका बाली–नालीमा क्षति पुर्याउँदै आएका बाँदरलाई निश्चित स्थान तोकी व्यवस्थित रूपमा पालन गरी मासु उत्पादन गर्न सकिने धारणा व्यक्त गरेका छन्। उनका अनुसार चीनलगायतका देशमा बाँदरको मासु र सुकुटीको माग रहेकाले यसलाई आयआर्जन र निर्यातसँग जोड्न सकिन्छ।
पौडेलले वन्यजन्तुसम्बन्धी विद्यमान कानुन परिमार्जन गरी बाँदर नियन्त्रण तथा व्यावसायिक उपयोगलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। यसबाट किसानलाई राहत मिल्नुका साथै रोजगारी सिर्जना र स्थानीय आम्दानी वृद्धि हुने दाबी गरिएको छ। पार्टीले वर्तमान राजनीतिक अवस्था संवैधानिक तथा कानुनी सन्तुलनभन्दा बाहिर गएको टिप्पणी गर्दै लोकतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई संरक्षण र सुदृढ गर्न आफ्नो जित आवश्यक रहेको जनाएको छ। ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न मतदातालाई अपिल गरिएको छ।
उम्मेदवार पौडेलले धनकुटाको विकासका लागि नेकपाले जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएका छन्। प्रतिवद्धता पत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, वन विज्ञान तथा पशु विज्ञान संकाय सञ्चालन, अस्पताल स्तरोन्नति, प्रत्येक स्थानीय तहमा खेलमैदान र कभर्ड हल निर्माण तथा औद्योगिक ग्राम स्थापना गर्ने योजना समावेश गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टी धनकुटाले २० बुँदे प्रतिवद्धतामा किसानका बाली–नालीमा क्षति पुर्याउने बाँदर नियन्त्रणका लागि व्यावसायिक रूपमा बाँदर पालन गरी मासु र सुकुटी उत्पादन गर्ने प्रस्ताव अघि सारेको छ। उम्मेदवार पौडेलले निश्चित स्थान तोकी बाँदर पालन गरेर मासु तथा सुकुटी उत्पादन गरी विदेश निर्यात गर्न सकिने धारणा राखेका छन्। उनले विद्यमान कानुन परिमार्जन गरेर बाँदर नियन्त्रणलाई व्यवस्थित गर्न सकिने दाबी गरे।
‘किसानको खेतबारी सखाप पार्ने बाँदरलाई नियन्त्रण गर्न निश्चित क्षेत्रमा पालेर आवश्यक पोषण दिई मासु उत्पादन गर्न सकिन्छ,’ पौडेलले भने, ‘चीनलगायतका देशमा बाँदरको मासु र सुकुटीको राम्रो मूल्य छ।’ पौडेलले आफू निर्वाचित भए वन्यजन्तु सम्बन्धी ऐन संशोधनका लागि पहल गर्ने र बाँदर नियन्त्रण तथा व्यावसायिक उपयोगको योजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाए। यसबाट किसानलाई राहत मिल्नुका साथै रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना हुने उनको भनाइ छ।
ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति, कच्ची सडक कालोपत्रे तथा ग्राभेल, नाली, पर्खाल र कल्भर्ट निर्माणमार्फत सुरक्षित यातायात व्यवस्था मिलाउने योजना पनि अघि सारिएको छ। विपद् जोखिम व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने प्रतिवद्धता समेत जनाइएको छ। कृषि क्षेत्रमा पकेट क्षेत्र विकास, कोल्ड स्टोर, प्रशोधन केन्द्र र वितरण केन्द्र स्थापना, सिँचाइ विस्तार, सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्ने उल्लेख छ। नगदे बाली, पशुपालन, तरकारी तथा फलफूल उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलको संरक्षण र प्रचार, मिनी रंगशाला निर्माण, खेल पूर्वाधार विकास तथा होमस्टे सञ्चालनलाई प्रोत्साहन गर्ने योजना पनि सार्वजनिक गरिएको छ। साथै, विदेशबाट फर्किएका युवालाई सीपमा आधारित स्वरोजगारमा जोड्ने कार्यक्रम ल्याइने जनाइएको छ। यसैगरी, शहीद, बेपत्ता तथा घाइते परिवारको संरक्षण, स्वच्छ खानेपानी पहुँच विस्तार, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अल्पसंख्यक समुदायको समान सहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता पनि नेकपाले जनाएको छ।
पार्टीले आफ्ना उम्मेदवारलाई जनताको घरदैलोमा समस्या सुन्ने र विकासको स्पष्ट आवाज उठाउने नेतृत्वको रूपमा चिनाउँदै आएको नेपाली कम्युनिष्ट पार्टी धनकुटाकी संयोजक कुशुम कुमारी श्रेष्ठले जानकारी दिइन्। उनले यसपटक विभिन्न कारणले नेकपाले धनकुटा जित हाँसिल गर्ने दाबी गर्दै जित हाँसिल गर्ने कारण भने आन्तरिक भएको भन्दै खुलाउन नचाहेको बताइन्।


