नेपालको राजनीतिक इतिहासमा वि.सं. २००७ साल फागुन ७ गते एउटा यस्तो प्रस्थान विन्दु हो, जसले शताब्दीऔँ देखि गुम्सिएको नेपाली समाजलाई खुला आकाशमा फेर्न सिकाएको थियो । १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासनको अन्त्य हुनु आफैँमा एउटा ठुलो युगान्तकारी घटना थियो । तर, सात दशकभन्दा लामो समय बितिसक्दा पनि एउटा गम्भीर प्रश्नले नेपाली राजनीतिलाई गिज्याइरहन्छ— के त्यो परिवर्तन केवल सडकमा उर्लिएको जनसागरको उपलब्धि थियो वा राजनीतिक सम्झौता मात्र ?
राणा शासनको त्यो कालखण्डमा नेपाल एउटा बन्दीगृह जस्तै थियो, जहाँ राणाहरूको हुकुमु नै कानुन हुन्थ्यो । शिक्षा, स्वास्थ्य र चेतनाको उज्यालोबाट टाढा राखिएका जनता बिस्तारै संगठित हुन थालेका थिए । १९९७ सालमा चार सहिदहरूलाई दिइएको मृत्युदण्डले नेपालीको मनमा प्रतिशोध र स्वतन्त्रताको आगो सल्काइदिएको थियो । दोस्रो विश्वयुद्धपछि विश्वभरि फैलिएको उपनिवेशवाद विरोधी लहर र छिमेकी राष्ट्र भारतको स्वतन्त्रताले नेपाली क्रान्तिकारीहरूलाई ठुलो ऊर्जा दियो ।
वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र मजदुर आन्दोलनको रापले राणा शासनको जग हल्लिन सुरु भइसकेको थियो । जनता अब केवल रैती भएर बस्न तयार थिएनन्, उनीहरू नागरिक बन्न चाहन्थे। २००७ सालको क्रान्ति केवल काठमाडौँका सडकमा मात्र सीमित थिएन । नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र सङ्घर्षले देशका विभिन्न भागहरू, जस्तै वीरगन्ज, विराटनगर, झापा र नेपालगन्जमा राणा सेनालाई चुनौती दियो ।
एकातिर मुक्ति सेनाको बन्दुकको आवाज थियो भने अर्कोतिर सर्वसाधारणको इन्कलाब जिन्दाबाद को नारा, यो आन्दोलनलाई अझ निर्णायक मोड तब मिल्यो, जब राजा त्रिभुवन सपरिवार नारायणहिटी दरबार छोडेर भारतीय दूतावास हुँदै दिल्ली पुगेका थिए । राजाले आफ्नो गद्दी नै दाउमा राखेर जनताको आन्दोलनलाई साथ दिनु विश्व इतिहासमै एउटा दुर्लभ घटना थियो । यसले राणाहरूलाई नैतिक रूपमा एक्लो बनाइदियो र अन्तर्राष्ट्रिय जगतको समर्थन पनि आन्दोलनकारीकै पक्षमा उभियो ।
भारतको मध्यस्थतामा राजा, कांग्रेस र राणा पक्षबीच वार्ता भयो, जसलाई इतिहासमा दिल्ली सम्झौताु भनेर बुझिन्छ । वि.सं. २००७ फागुन १ गते भएको सो सम्झौताले राणाहरूलाई पूर्ण रूपमा सत्ताच्युत गर्नुको सट्टा उनीहरूलाई पनि नयाँ सरकारमा स्थान दियो ।
मोहन शमशेरलाई नै प्रधानमन्त्री स्वीकार गरिनु र क्रान्तिलाई बीचैमा रोकिनुले धेरै क्रान्तिकारीहरूमा असन्तुष्टि पैदा गर्यो। डा. केआई सिंह जस्ता कतिपय नेताहरूले त यसलाई क्रान्तिमाथिको घातु समेत भनेका थिए । सम्झौताले राणाहरूको बीउ जोगाएर प्रजातन्त्रलाई भविष्यमा कमजोर बनाउने बाटो खोलिदियो भन्ने उनिहरुको तर्क थियो ।
यसर्थ, फागुन ७ को घोषणालाई दुई दृष्टिकोणबाट हेर्ने गरिन्छ । एक पक्षले यसलाई सम्झौताको परिणामु मान्छन्, जसले नेपालीलाई पूर्ण स्वतन्त्रता भन्दा पनि विदेशी स्वार्थ र आन्तरिक शक्तिको सन्तुलनमा अल्झाइदियो । अर्को पक्ष भने यसलाई जनआन्दोलनको ठुलो उपलब्धिु मान्छन्, किनभने १०४ वर्षको तानाशाहीलाई सधैँका लागि बिदा गर्नु सानो कुरा थिएन । सम्झौता त केवल एउटा माध्यम थियो, जसले थप रक्तपात हुनबाट देशलाई जोगायो ।
राजा त्रिभुवनले फागुन ७ मा गरेको शाही घोषणामा अब उप्रान्त हाम्रा प्रजाको शासन उनीहरूले नै छानेको संविधान सभाले निर्माण गरेको लोकतन्त्रात्मक संविधान अनुसार हुनेछू भन्नु नेपाली राजनीतिको सबैभन्दा प्रगतिशील दस्तावेज थियो । २००७ सालको प्रजातन्त्र दिवस सम्झौता र जनआन्दोलन दुवैको समिश्रण थियो । जनताको रगत नबगेको भए राणाहरू वार्ताको टेबुलमा आउने थिएनन् र सम्झौता नभएको भए सङ्घर्ष अझै कति लामो र हिंस्रक हुन्थ्यो भन्ने अनुमान गर्न कठिन छ ।
त्यो दिनले नै नेपाललाई आधुनिक युगमा प्रवेश गरायो, नागरिक अधिकारको ढोका खोल्यो र भविष्यका सबै लोकतान्त्रिक आन्दोलनहरूको जग बसाल्यो । आज हामी जुन संघीय लोकतान्त्रिक गणतन्त्रको उपभोग गरिरहेका छौँ, त्यसको पहिलो पाइला त्यही फागुन ७ को बिहानीले नै चालेको थियो । त्यसैले यो दिवसलाई केवल इतिहासको पानामा सीमित नराखी, यसले सिकाएको एकता र बलिदानीको मर्मलाई आत्मसात् गर्नु नै सहिदहरूप्रतिको सच्चा सम्मान हुनेछ ।


