Banijya News

रास्वपाबाट रहबर अन्सारी बने उद्योग समिति सभापति

1
1.2K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिहरूमा आफ्नो बलियो उपस्थिति जनाउने क्रममा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहबर अन्सारीलाई अघि सारेको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अन्सारीलाई उक्त महत्त्वपूर्ण समितिको सभापति बनाउने औपचारिक निर्णय गरेको हो।

संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेले सुरुमा संसदीय समितिको सभापति पदका लागि मनिष झाको नाम पनि प्रस्ताव गरेका थिए। तर, झाले आफू अहिले नै समितिको सभापति पदको उम्मेदवार नबन्ने र अन्य जिम्मेवारीमा केन्द्रित हुने इच्छा व्यक्त गरेपछि रहबर अन्सारीका लागि बाटो खुलेको हो। मनिषको उक्त निर्णयपछि पार्टीले अन्सारीलाई नै समितिको कमान सम्हाल्ने जिम्मेवारी सुम्पिएको हो।

यस नियुक्तिसँगै अब उद्योग, वाणिज्य, श्रम र उपभोक्ताको हकहितसँग जोडिएका नीतिगत बहस र अनुगमनको नेतृत्व रहबर अन्सारीले गर्नेछन्। उपभोक्ता अधिकारको संरक्षण र श्रम बजारका समस्या समाधानका लागि संसदीय समितिले खेल्नुपर्ने भूमिकालाई अन्सारीले प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा पार्टीले राखेको छ। रास्वपाले आफ्ना सांसदहरूको दक्षता र रुचिअनुसार संसदीय समितिहरूमा जिम्मेवारी बाँडफाँड गर्ने नीतिअनुसार अन्सारीलाई यो जिम्मेवारी सुम्पिएको बताइएको छ।

1

Scroll to Top