सुनसरीको देवानगञ्ज घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मेहतालाई घटनामा गोली लागेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । प्रारम्भिक विवरणमा उनको बायाँ तिघ्रामा गोली लागेको उल्लेख थियो । घटनाका अर्का एक घाइतेको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने रवीन्द्रसहितका स्थानीय घाइते भएका थिए ।
त्यसपछि घाइते जयप्रकाश मेहताको पनि उपचारका क्रममा निधन भएको थियो । घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा सिरहामा गणेश यादवको मृत्यु भएको थियो ।
रवीन्द्रको निधनसँगै सुनसरी घटना र त्यसपछि भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।


