Banijya News

टी–२० विश्वकपबाट नेपालले पायो झन्डै चार करोड

1
1.1K Shares

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले दसौँ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी २० राष्ट्रलाई ११.२५ मिलियन अमेरिकी डलर (एक अर्ब ६५ करोड रुपैयाँ) पुरस्कार रकम वितरण गरेको छ । विश्वकपमा सहभागी भएबापत र उनीहरूको प्रदर्शनका आधारमा रकम वितरण गरिएको आइसिसीले जनाएको छ । तेस्रोपटक विश्वकप विजेता बनेको भारतले सर्वाधिक २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर प्राप्त गरेको छ ।

दोस्रोपटक विश्वकप उपविजेता बनेको न्युजिल्यान्डले १४ लाख २२ हजार ६०२ अमेरिकी डलर पाएको छ । यसैगरी, दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५७७ र इंग्ल्यान्डले नौ लाख ७४ हजार ४२३ अमेरिकी डलर हात पारेको आइसिसीले जनाएको छ । आइसिसीले सन् २०२४ को संस्करणको तुलनामा यसपटक पुरस्कार रकम वृद्धि गरेको हो । आइसिसीले सहभागी २० टोलीलाई जित र स्थानका आधारमा पुरस्कार रकम वितरण गरेको हो ।

समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकप खेलेको नेपाल १६औँ स्थानमा रह्यो । नेपालले दुई लाख ५६ हजार १५४ अमेरिकी डलर (तीन करोड ७७ लाख रुपैयाँ) पाएको छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपाल समूह ‘डी’मा परेको थियो । नेपालले समूहको पहिलो खेलमै दुईपटकको विजेता इंग्ल्यान्डविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

इंग्ल्यान्डले एसोसिएट राष्ट्र नेपाललाई केवल ४ रनले हराएको थियो । आइसिसीका अनुसार नेपाल र इंग्ल्यान्डबिचको खेल विश्वकपकै सर्वाधिक रोमाञ्चक रहेको जनाएको छ । नेपालले विश्वकपमा स्कटल्यान्डलाई हराउँदै सन् २०१४ पछि जित हात पारेको थियो । समूह ‘डी’मा नेपाल नवप्रवेशी इटालीबाट १० विकेट तथा दुईपटकको विजेता वेस्ट इन्डिजबाट नौ विकेटले पराजित भयो ।

१०औँ संस्करणको विश्वकपमा उत्कृष्ट प्रदर्शनसँगै एक खेल जितेको नेपालले ३१ हजार १५४ अमेरिकी डलर बोनस पाएको छ । नेपालसहित इटाली, नेदरल्यान्ड्स र युएईले समान दुई लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गरेका छन् । आइसिसीले पुरस्कार रकम समूह चरण, सुपर ८, सेमिफाइनल र फाइनलसम्मको आधारमा दिएको हो । आइसिसीले विश्वकपमा सहभागी २० राष्ट्रका सम्बन्धित क्रिकेट बोर्डमा रकम पठाउनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसीबाट प्राप्त हुने रकम बोर्ड बैठकबाट निर्णय गरी खेलाडीलाई प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

विश्वकपमा सहभागीलाई दुई लाख २५ हजार अमेरिकी डलर दिइने आइसिसीको नियम छ । त्यसपछि प्रतियोगितामा प्राप्त स्थान, जितेको खेलको बोनस र कुन चरणसम्म पुग्यो भन्ने आधारमा रकम थपिएको हो ।

1

Scroll to Top