अहिले फिफा विश्वकप २०२६ चलिरहेको छ । विश्वकपको समूह चरणअन्तर्गतका खेलहरु समाप्त भएसँगै अन्तिम ३२ मा पुगेका राष्ट्रहरुको निश्चित भइसकेको छ । सन् १९८८ देखि २०२२ सम्मका प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली मात्र नकआउट चरणमा पुग्ने व्यवस्था थियो । तर, यसपटक नयाँ ढाँचाअनुसार १२ मध्ये ८ वटा तेस्रो स्थानमा रहेका टोलीसहित ३२ टोली नकआउट चरणमा पुगेका छन् ।
यसपटकको विश्वकपमा पहिलो पटक ४८ टोलीको ढाँचामा खेलिएको छ । यसले गर्दा समूह चरणबाट शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो स्थान पाएका टोलीहरू पनि नकआउटमा पुगेका छन् । अन्तिम निर्णय अंकका आधारमा, त्यसपछि गोल अन्तरका आधारमा गरिएको थियो । सबै समूहका खेल सकिएपछि मात्र अन्तिम सूची तय भएको थियो ।
नकआउट चरणमा अब उत्कृष्ट ३२ टोलीहरूले एकअर्कासँग एलिमिनेशन खेल खेल्नेछन् । यस चरणमा जित्ने टोली मात्र अगाडि बढ्छ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिन्छ ।
नकआउट चरणमा विश्व फुटबलका ठूला शक्ति राष्ट्रहरू अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, स्पेन, नेदरल्यान्ड्स, इङ्गल्यान्ड, पोर्चुगललगायतका टोलीहरूले स्थान बनाएका छन् । यसपटक आश्चर्यजनकरुपमा केही नयाँ टोलीहरू केप भर्डे, दक्षिण अफ्रिका, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, मोरक्को, जापान, इजिप्टजस्ता टोलीहरूले पनि ऐतिहासिक रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् । यसले प्रतियोगितालाई अझ रोमाञ्चक र अनिश्चित बनाएको छ ।
समूह ‘ए’ बाट मेक्सिको र दक्षिण अफ्रिका, ‘बी’ बाट स्विट्जरल्याण्ड र क्यानाडा, ‘सी’ बाट ब्राजिल र मोरक्को, ‘डी’ बाट अमेरिका र अस्ट्रेलिया साथै समूह ‘ई’ बाट जर्मनी र आइभोरी कोस्ट नकआउट चरणमा प्रवेश गरेका छन् । त्यस्तै, समूह ‘एफ’ बाट नेदरल्याण्ड्स र जापान, ‘जी’ बाट बेल्जियम र इजिप्ट, ‘एच’ बाट स्पेन र केप भर्डे, ‘आई’ बाट फ्रान्स र नर्वे, ‘जे’ बाट अर्जेन्टिना र अस्ट्रिया, ‘के’ बाट कोलम्बिया र पोर्चुगल, ‘एल’ बाट इंगल्याण्ड र क्रोएशिया समूह विजेता र उपविजेता बनेर नक आउट चरणमा पुगेका हुन् ।
तेस्रो स्थानमा उत्कृष्ट नतिजाका आधारमा कंगो, स्वीडेन, घाना, इक्वेडर, बोस्निया एन्ड हर्जगोभिना, अल्जेरिया, पाराग्वे र सेनेगल नक आउट चरणमा पुग्न सफल भएका छन् ।
नक आउट चरणका खेलहरु भोलिदेखि नै शुरु हुनेछन् । नकआउट चरणमा केही रोमाञ्चक र उच्चस्तरीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । ब्राजिलले जापानसँग भिड्नेछ भने जर्मनीको सामना पाराग्वेसँग हुनेछ । त्यस्तै, फ्रान्स र स्विडेन, पोर्चुगल र क्रोएसियाबीच रोमाञ्चक भिडन्त हुने भएको छ । अर्जेन्टिना र केप भर्डेबीचको प्रतिस्पर्धाले पनि समर्थकको ध्यान तानेको छ । यसैगरी, इंग्ल्याण्ड र कंगोबीच प्रतिष्पर्धा हुँदैछ भने बेल्जियम र सेनेगल, अष्ट्रेलिया र इजिप्ट, अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीच भिडन्त हुने भएको छ ।
राउण्ड अफ ३२ बाट विजयी हुने टोलीहरु अन्तिम १६ मा प्रवेश गर्नेछन् । त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल हुँदै विश्व फुटबलको नयाँ च्याम्पियन तय हुनेछ ।


