Banijya News

भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन प्रणाली, के हो भन्सार अनलाइन भ्यालुएसन प्रणाली ?

1
1.1K Shares

देशभरका २९ वटा भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन प्रणाली सुरू भएको छ । आयात तथा निर्यात हुने सामानको मूल्यदर अनलाइनमार्फत मूल्यांकन गर्ने प्रणाली सुरू भएको हो । यससँगै वास्तविक मूल्यमा नेपालका ग्राहकले अन्तर्राष्ट्रिय बस्तु खरिद गर्न पाउने भन्सार विभागले जनाएको छ । कारोबार गरेकै मूल्यमा भन्सार जााचपास भएपछि अब अन्तर्राष्ट्रिय व्यापारसमेत पारदर्शी हुने विभागले जनाएको छ ।

यसअघि सन्दर्भ मूल्यसूचीका आधारमा भन्सार जाँचपास हुँदा वास्तविक मूल्यांकन नहुने र बजारसम्म पुग्दा बिल-बिजकमै फरक पर्ने हुन्थ्यो । सस्तोमा सामान आयात गर्दा पनि भन्सारको सन्दर्भ मूल्य बढी हुँदा मूल्य बढाएर बिल जारी गर्नुपर्ने समेतको बाध्यता थियो । ४० भन्सार कार्यालयमध्ये गत शुक्रबारदेखि २९ वटामा कारोबार गरेकै बिलको आधारमा जाँचपास हुने भएको हो ।

व्यवसायीले तिरेको वा तिर्नुपर्ने मूल्यका आधारमा भन्सार जाँचपास हुने हुँदा यसले समग्र अर्थतन्त्रलाई पारदर्शी बनाउने विभागले जनाएको छ । बहुराष्ट्रिय कम्पनी तथा एजेन्सीमार्फत गरेका कारोबारको समेत छिटो जाँचपास गर्न सके व्यापारको लागत घटाउने व्यवसायी बताउँछन् ।

यो प्रणाली लागू भएसँगै भन्सार जाँचपास गराउन निजी क्षेत्रले नक्कली बिल-बिजक जारी गर्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ । तर यसमा वास्तविक कारोबार र सही कागजातमात्र पेस गर्नुपर्ने भएकाले निजी क्षेत्र पनि इमान्दार हुनुपर्ने भन्सार विभाग बताउँछ ।

के हो भन्सार अनलाइन भ्यालुएसन प्रणाली ?
अनलाइन भ्यालुएसन डेटाबेस प्रणाली भनेको आयातित वस्तुको भन्सार मूल्य घोषणा सम्बन्धी तथ्यांक संकलन, स्टोर र विश्लेषण गर्ने प्रणाली हो, जसले भन्सार कार्यालयलाई त्यस्ता वस्तुको कम मूल्यांकन हुने जोखिम घटाउन सहयोग गर्छ । भन्सार विभागको आयोजनामा शुक्रबार सुरु भएको दुईदिने भन्सार व्यवस्थापन गोष्ठी मार्फत उक्त प्रणाली सबै भन्सार कार्यालयबाट एकैसाथ शुभारम्भ गरिएको हो। नयाँ प्रणाली लागू भएसँगै नक्कली बिल–बिजक प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने छ ।

1

Scroll to Top