Banijya News

योजना आयोगद्धारा आगामी बजेटका योजना माग

1
1.2K Shares

राष्ट्रिय योजना आयोगले संघीय विशेष र समपूरक अनुदान कार्यविधिको पहिलो संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार आयोगले प्रदेश र पालिकासँग समपूरक र विशेष अनुदानमार्फत कार्यान्वयन हुने आयोजना र कार्यक्रम पनि माग गरेको छ ।

आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि माघ मसान्तसम्म विद्युतीय सूचना प्रणालीमा प्रस्ताव पठाउन आह्वान गरिएको छ । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई सशक्तीकरण गर्दै सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासमा सन्तुलन कायम गर्ने उद्देश्यका साथ समपूरक अनुदान र विशेष अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन गरेको हो ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अन्तर्गत जारी कार्यविधिलाई सरकारले कार्यान्वयनमा ल्याएको छ । कार्यविधिमा स्थानीय तथा प्रदेश सरकारहरूले सञ्चालन गर्न पाउने आयोजनाको लागत सीमा, अनुदानको क्षेत्र, परियोजना छनोटको आधारसमेत छुट्याइएको छ । यस्तै, तीन वर्षभित्र सम्पन्न गर्ने गरी आयोजना प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा सरकारले विशेष अनुदानका आधारभूत सेवा र सामाजिक रूपान्तरणका लागि विशेष अनुदान क्षेत्र समेत छुट्याएको छ । शैक्षिक विकासको लागि सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा आधारभूत स्वास्थ्य सेवा गुणस्तर अभिवृद्धि गर्न वञ्चित, दलित, लोपोन्मुख तथा आर्थिक रूपले पछि परेका समुदायलाई लक्षित गरी खानेपानी तथा सरसफाइ, विभेदमा परेका वर्गको उत्थानका लागि उत्पादन र उत्पादकत्व वृद्धि गर्न क्षेत्र छुट्याइएको छ । विशेष अनुदानका लागि प्रस्तावित आयोजनाहरूको कुल लागतको अनिवार्य सीमा र शर्त तोकिएको छ ।

गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन हुने आयोजनाहरुका लागि २५ लाखदेखि तीन करोड रुपैयाँ सीमा निर्धारण गरेको छ । यस्तै, उपमहानगरपालिका वा महानगरपालिकाबाट कार्यान्वयन हुने आयोजनाका लागि २५ लाखदेखि पाँच करोड रुपैयाँसम्म तोकेको छ । यसैगरी प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजनाका लागि पाँच करोडदेखि दश करोड रुपैयाँ सीमा निर्धारण गरेको छ ।

समपूरक अनुदानको मुख्य केन्द्र भौतिक पूर्वाधार विकाससँग सम्बन्धित ठूला आयोजना वा कार्यक्रमहरूमा रहेको छ । यसले प्रदेश वा स्थानीय तहको पूर्वाधार विकासमा सन्तुलन कायम गर्दै प्राथमिकता प्राप्त आयोजना कार्यान्वयन गर्न न्यायोचित रूपले अनुदान उपलब्ध हुनेछ ।

समपूरक अनुदानका लागि कार्यविधिमा समपूरक अनुदानका लागि विषेशगरी कृषि उपजको प्रशोधन, भण्डारण र बजारीकरण, खानेपानी तथा सरसफाइ, सिँचाइ तथा नदी नियन्त्रण, नवीनतम प्रविधिको प्रयोग गरी फोहोरमैलाको प्रशोधन र व्यवस्थापन, स्थानीय आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता रहेको छ । यस्तै, वैकल्पिक ऊर्जा उत्पादन र विज्ञान तथा प्रविधिसँग सम्बन्धित पूर्वाधार, स्थानीय सडक, प्रदेश लोकमार्ग, सडक, पुल, स्वास्थ्य चौकी, अस्पताल तथा सोसँग सम्बन्धित पूर्वाधार लगायतका क्षेत्रलाई प्रथामिकतामा राखिएको छ ।

समपूरक अनुदानमा गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन हुने आयोजनाहरुका लागि एक करोडदेखि सात करोड रुपैयाँको सीमा निर्धारण गरिएको छ भने उपमहानगरपालिका वा महानगरपालिकाबाट कार्यान्वयन हुने आयोजनाका हकमा तीन करोडदेखि १५ करोड रुपैयाँ रुपैयाँसम्मको सीमा निर्धारण छ । यस्तै, प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजनाहरु १० करोडदेखि ३० करोड रुपैयाँसम्मको लगानीको सीमा निर्धारण गरेको छ । यसैगरी यी आयोजनाहरू पनि बढीमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी प्रस्ताव गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

1

Scroll to Top