स्थानीय र प्रदेश सरकारले दुई महिनाभित्रै आउँदो आर्थिक वर्ष लागि अनुदान र समपूरक अनुदान माग पेस गर्नुपर्ने भएको छ । राष्ट्रिय योजना आयोगले गत मंसिर २६ गते माघ मसान्तसम्म अनुदान माग गर्नू भनेको हो ।
संघीय सरकारले स्थानीय र प्रदेशलाई विशेष अनुदान र समपूरक अनुदान उपलब्ध गराउँछ । विगतका पाँचवर्षको प्रवृत्ति हेर्दा केन्द्रबाट स्थानीय तहलाई विशेष अनुदानअन्तर्गत माग र आवश्यकताका आधारमा चार करोड रुपैयाँदेखि पौने सात करोड रुपैयाँको बीचमा रहेर उपलब्ध गराउँदै आएको थियो ।
साथै, केन्द्रीय सरकारले समपूरक अनुदानमा पनि ४ करोड रुपैयाँदेखि सवा पाँच करोड रुपैयाँका बीचमा उपलब्ध गराएको देखिन्छ । आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश र स्थानीय तहका लागि अनुदानअन्तर्गतका आयोजना वा कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो ।
उक्त अनुदानमा कार्यान्वयन हुने आयोजनाका लागि प्रस्तावित विधि अनुसार तयार गरी २०८२ माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत पेस गर्न भनिएको छ ।
हालै आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका डा. प्रकाशकुमार श्रेष्ठका अनुसार, विशेष र समपूरक अनुदानका लागि प्रस्ताव मागिएको हो । तर, अनुदानको वितरण मापदण्ड आयोगले तोकेको क्षमता, दुर्गम–सुगम अवस्था र आवश्यकताको आधारमा दिइनेछ ।
प्रदेश वा स्थानीय तहद्वारा प्रस्तावित आयोजना वा कार्यक्रम दोहोरो स्रोतबाट कार्यान्वयन नभएको सुनिश्चित गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । समपूरक अनुदानका प्राथमिकतामा कृषि उपजको प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी पूर्वाधार, खानेपानी तथा सरसफाइ र सिँचाइ तथा नदी नियन्त्रण पर्छन् ।
त्यसरी नै फोहोरमैला प्रशोधन र व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोग गरी गरिने कार्यहरू प्राथमिकतामा पर्नेछन् । यसका साथै, सामुदायिक विद्यालय भवन निर्माण, पर्यटन पूर्वाधार र मध्यवर्ती क्षेत्रमा वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि गरिने पूर्वाधार निर्माण पनि प्राथमिकतामा छन् ।
यसैगरी, वैकल्पिक ऊर्जा उत्पादन (जस्तै सौर्य, वायु, जैविक) र विज्ञान तथा प्रविधि विकाससम्बन्धी पूर्वाधार, स्वास्थ्य चौकी, अस्पताल तथा सोसँग सम्बन्धित पूर्वाधार क्षेत्रलाई समेटेर अनुदान माग गर्नुपर्नेछ ।
यससँगै सडक पूर्वाधार माग गर्नुपरेमा ग्रामीण क्षेत्र र वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था आदि जनता सेवा केन्द्र जोड्ने सडक र प्रदेश वा स्थानीय तहमा प्रवेशका हकमा प्रदेश लोकमार्ग र त्यसअन्तर्गतका सडक पुल प्राथमिकतामा पर्नेछन् ।
विशेष अनुदानको माग गर्दा शैक्षिक सेवाको गुणस्तर अभिवृद्धि गर्नेखालका विद्यालय फर्निचर, शैक्षिक सामग्री, डिजिटल बोर्ड, प्रयोगशाला उपकरण, पुस्तकालय, शौचालय निर्माण पर्छन् । यसमा दलित, अपाङ्गता भएका, लोपोन्मुख तथा पिछडिएको समुदाय लक्षित नेपाल सरकारबाट अनुदान नसमेटिएका शैक्षिक सुधार कार्यक्रम पनि समावेश छन् ।
यस्तै, आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नेखालका स्वास्थ्य उपकरण, प्रयोगशाला सामग्री, औषधि तथा बर्थिङ सेन्टरका लागि शय्या र उपकरण व्यवस्थापन पर्छन् ।
आयोगको कार्यविधिअनुसार, खानेपानी आपूर्ति, सरसफाइ, जल पुनर्भरण तथा स्रोत संरक्षणदेखि कृषक समूहका लागि डिप ट्युबवेल सिँचाइ, पम्प, प्लास्टिक पोखरी, व्यवसायिक पशुपन्छी पालन, फलफूलको बगैँचाका उत्पादन, उन्नत बीउ तथा कृषि औजार व्यवस्थापन आदि क्षेत्र विशेष अनुदानको प्राथमिकतामा पर्छन् ।


