Banijya News

सोलार परियोजनासहित चौध आयोजनाको वातावरणीय अध्ययन सम्पन्न

1
1.1K Shares

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८२/०८३ को हालसम्म विभिन्न १४ वटा जलविद्युत् तथा प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनको काम सम्पन्न गरेको छ। प्राधिकरणका अनुसार यीमध्ये अधिकांश उच्च क्षमताका प्रसारण लाइन आयोजना छन् भने केही जलविद्युत् आयोजना र एउटा सोलार परियोजना समेत समावेश छन्।

वातावरणीय अध्ययन भएका आयोजनामा ३३, १३२, २२० र ४०० केभी क्षमताका प्रसारण लाइनहरू प्रमुख छन्। प्रसारण लाइनतर्फ निजगढ–पोखरिया ४०० केभी आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन गत वैशाख १२ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृत भएको छ। त्यसैगरी, औराहा–सिमरा १३२ केभी आयोजनाको आईईई प्रतिवेदन जेठ २० मा सोही मन्त्रालयबाट स्वीकृत भएको प्राधिकरणले जनाएको छ।

लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको परिमार्जित आईईई प्रतिवेदनका लागि स्थलगत अध्ययन सम्पन्न भइसकेको छ। घन्सार–हर्निया ४०० केभी आयोजनाको आईईई प्रतिवेदनको कार्यसूची तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश भएको छ। जगतपुर–माडी ३३ केभी आयोजनाको अद्यावधिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ऊर्जा मन्त्रालयमा सिफारिस भई वन तथा वातावरण मन्त्रालयमा पेश भएको छ।

हेटौडा–ढल्केबर–दुहबी ४०० केभी आयोजनाको दोस्रो परिमार्जित आईईई प्रतिवेदन ऊर्जा मन्त्रालयबाट स्वीकृत भइसकेको छ। दमक–केरुन–विराटनगर १३२ केभी र सुर्खेत–दैलेख १३२ केभी आयोजनाको आईईई प्रतिवेदनको कार्यसूचीका लागि स्थलगत अध्ययन सम्पन्न भई विद्युत् विकास विभागमा पेश भएको छ। रातामाटे–गल्छी २२० केभी आयोजनाको आईईई प्रतिवेदन तयारीको क्रममा छ भने चमेलिया–जैवलजीवी ४०० केभी आयोजनाको निर्माणका लागि समझदारीपत्र (एमओयू) सम्पन्न भइसकेको छ।

जलविद्युत् आयोजनातर्फ ७०.३७ मेगावाटको जावा तिला अर्धजलाशययुक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को क्षेत्र निर्धारण कार्यसूची प्रतिवेदन विद्युत् विकास विभागमा स्वीकृतिका लागि पेश भएको छ। ३३४ मेगावाटको स्यार्पु दह पम्प जलाशययुक्त आयोजनाको पनि ईआईए क्षेत्र निर्धारण कार्यसूची विभागमा पेश भएको छ। सल्लेरी च्याल्सा जलविद्युत् आयोजनाको कार्यसूची पेश गरी रिभ्यू मिटिङ सम्पन्न भएको छ।

यसबाहेक, ४ मेगावाटको प्रस्तावित कुलेखानी प्रथम सौर्य आयोजनाको निर्माणका लागि एमओयू सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ।

1

Scroll to Top