Banijya News

कर विवाद बढ्दै जाँदा दबाबमा राज्यको ढुकुटी, दुई खर्ब उठ्न बाँकी

1
1.1K Shares

करदाता र सरकारबीच बढ्दै गएको कर विवादका कारण राज्यको राजस्व संकलन दबाबमा परेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्तिमसम्म कर बक्यौता र अपिलमा रहेको रकम जोड्दा करिब दुई खर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी छ । कर निर्धारणमा असहमति, लामो कानुनी प्रक्रिया र कमजोर असुली संयन्त्रका कारण राज्यको ढुकुटीमा आउनुपर्ने रकम कागजमै सीमित हुन थालेको हो ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म अपिलमा रहेको समेत कुल कर बक्यौता २ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कर निर्धारण भइसकेर पनि तोकिएको समयभित्र दाखिला नभएको बक्यौता मात्रै ९४ अर्ब ९५ करोड रुपैयाँ छ । कर विवादपछि आन्तरिक राजस्व विभाग तथा न्यायिक निकायमा अपिलमा पुगेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ पुगेको देखिन्छ । यस अवस्थाले कर प्रणालीप्रति करदाताको विश्वास र राज्यको राजस्व क्षमतामाथि प्रश्न उठाएको छ ।

साथै कर कार्यालयहरुबाट कर निर्धारण उपर करदाताले चित्त नबुझाई आन्तरिक राजस्व विभागमा पुनरावलोकनमा रहेको तथा न्यायीक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रहेको विभागको आँकडा छ । कुन शीर्षकको करमा कति विवाद ? विभागका अनुसार सबैभन्दा धेरै बक्यौता र विवादित रकम आयकरमा रहेको छ । कुल १ लाख ९२ हजार ५०९ करदाताको ५४ अर्ब ९६ करोड रुपैयाँ राजस्व बक्यौतामा रहेको छ । उता, अपिलतर्फ समेत सबैभन्दा बढी विवाद आयकरमै रहेको छ । कुल १ हजार १११ करदाताको १ खर्ब ६४ अर्ब १५ करोड रुपैयाँ अपिलमा रहेको छ ।

यस अनुसार आयकरमा कुल १ लाख ९३ हजार ६२० करदाताको २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर राजस्व बक्यौता रहेको देखिन्छ । मूल्य अभिवृद्धि करतर्फ १ लाख ३६ हजार ४५६ करदाताको ३८ अर्ब ३४ करोड रुपैयाँ रकम बक्यौता देखिन्छ । अपिलमा रहेको रकमतर्फ ७ सय ९७ करदाताको १० अर्ब ३६ करोड रुपैयाँ बक्यौता कायम भएको छ ।

यस अनुसार कुल ४८ अर्ब ७० करोड रुपैयाँको बक्यौता मूल्य अभिवृद्धि करतर्फ कायम भएको छ । अन्त: शुल्कमा २ सय ८७ करदाताको ६८ करोड रुपैयाँ कर बक्यौता रहेको छ । अपिलमा रहेको रकममा ७७ करदाताको ३ अर्ब ४१ करोड रुपैयाँ बक्यौता छ । कुल ३ सय ६४ करदाताको ४ अर्ब ९ करोड बक्यौता अन्त: शुल्कमा कायम भएको आन्तरिक राजस्व विभागको तथ्यांकमा उल्लेख छ । अन्य शीर्षकमा कुल १ हजार ६६० करदाताको ९७ करोड रुपैयाँ बक्यौता कायम छ । अपिलमा रहेको बक्यौता १ सय १० करदाताको २ अर्ब १८ करोड बक्यौता छ । यसप्रकार कुल १ हजार ७७० करदाताको ३ अर्ब १५ करोड कुल बक्यौता कायम भएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ५ सय करदातासमक्ष पुगेर संकलन गर्ने लक्ष्य राखिएको थियो । जसमध्ये ५ हजार २५ करदातासमक्ष विभाग पुगेको छ। जुन लक्ष्यको १११.६७ प्रतिशत हो । यस आवमा बक्यौता संकलन आयकरतर्फ २२ अर्ब ७६ करोड राखिएको थियो । प्रगति भने ८ अर्ब ७१ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ३८.२९ प्रतिशत मात्र हो । मूल्य अभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड बक्यौता उठाउने लक्ष्य राखिएकोमा १० अर्ब ३३ करोड रुपैयाँ मात्र असुल भएको छ ।

बक्यौता समायोजनमा आयकरतर्फ २७ अर्ब ३८ करोडको लक्ष्य राखिएकोमा २१ अर्ब ३९ करोड प्रगति भएको छ । जुन लक्ष्यको तुलनामा ७१ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । मूल्य अभिवृद्धि करतर्फ १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड प्रगति भएको छ । जुन लक्ष्यको तुलनामा १२२.६३ प्रतिशत प्रगति हो । कानुनी कारबाही गरी असुल गर्ने कुल लक्ष्य ४ अर्ब ३९ करोड रहेकोमा १ अर्ब ७९ करोड अर्थात् ४०.७७ प्रतिशत असुली भएको छ ।

1

Scroll to Top