सिटिजन्स क्यापिटल लिमिटेडले पुस ४ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन दिने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ।
यस योजनामा कुल १० करोड इकाई बिक्रीमा ल्याइएको छ, जसको अंकित मूल्य प्रतिइकाई १० रुपैयाँ छ। कोष प्रबर्द्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि न्यूनतम १५ प्रतिशत वा १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आवेदन नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सबै सि-आस्बा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट गर्न सकिनेछ। साथै, सीडीईएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर प्रयोग गरी मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।
इकाई निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कोष प्रबर्द्धकलाई ट्रिपल बी प्लस र योजना व्यवस्थापकलाई एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।


