सरकारले बजेटमा सुशासन कायम गर्न नसक्दा गैरबजेटरी खर्च निरन्तर बढ्दै गएको छ । गैरबजेटरी निकायले गत आर्थिक वर्ष २०८१/८२ मा मात्र ९८ अर्ब ३३ करोड ४६ लाख खर्च गरेको छ ।
गैरबजेट निकायअन्तर्गत पर्ने बोर्ड, समिति वा सोही प्रकृतिका दर्जनौँ संस्थाहरुले ७९ अर्ब ६६ करोड ८४ लाख चालु, १७ अर्ब ७२ करोड ३४ लाख पुँजीगत र ९४ करोड २७ लाख वित्तीय व्यवस्थातर्फ खर्च गरेको छ ।
गैरबजेट निकायहरुले सबैभन्दा बढी पारिश्रमिक–सुविधामा खर्च गरेको देखिन्छ । गत आवमा ३३ अर्ब ८८ करोड ३४ लाख पारिश्रमिक–सुविधा खर्च, १७ अर्ब १३ करोड ८७ लाख मालसामान तथा सेवाको उपभोग खर्च, १ अर्ब ६४ करोड ९९ लाख ब्याज, सेवा शुल्क तथा बैंक कमिशनमा गैरबजेट निकायहरुले खर्च गरेको देखिन्छ ।
२ अर्ब २३ करोड ७७ लाख भवन तथा संरचना, २ अर्ब ४० करोड ९६ लाख सवारी साधन तथा मेशिनरी औजरमा खर्च गरेको तथ्याङ्क छ । गैरबजेट निकायअन्तर्गत विभिन्न विश्वविद्यालय, अस्पताल, प्राधिकरण, काउन्सिललगायत पर्छन् ।
गत आवमा सरकारको गैरबजेटरी खर्च र आम्दानीलाई तुलना गर्दा आम्दानी बढी रहेको छ । तर, बजेट प्रणालीबाहिरबाट हुने खर्च र आम्दानी दुवै बजेट सुशासनभन्दा बाहिर हुने हुँदा यसलाई सहज मान्न नसकिने महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरु बताउँछन् । गैरबजेटरी खर्च र आम्दानीलाई व्यवस्थित गर्नु आवश्यक रहेको उनीहरुको तर्क छ ।
गैरबजेट निकायको राजस्व आम्दानी १ खर्ब ३८ अर्ब ४९ करोड ६४ लाख रहेको छ । ती निकायहरुले राजस्व, अनुदान र अन्य प्राप्तिअन्तर्गतको आम्दानी १ खर्ब ३७ अर्ब ९३ करोड ६४ लाख र लगानी तथा वित्तीय प्राप्तिअन्तर्गत ५६ करोड रहेको छ । प्रचलित लेखामानबमोजिम बजेट प्रणालीबाहिरका (एक्स्ट्रा बजेटरी) सार्वजनिक निकायसमेतको आम्दानी, खर्च, अनुदानलगायतका विषयमा समावेश गरी नक्सांकन (म्यापिङ) गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार महालेखा नियन्त्रक कार्यालयले गैरबजेटरी निकायको वित्तीय विवरणसमेत तयार पारेको महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरुले बताए ।
सरकारको बजेट प्रणालीबाहिरका (एक्स्ट्रा बजेटरी) सार्वजनिक निकाय नै गैरबजेटरी निकाय हुन् । यस्ता निकायबाट हुने खर्च सरकारको खाता (ट्रेजरी)भन्दा बाहिरबाट हुने गर्छ । सरकारले पहिलोपटक २०७९/८० मा गैरबजेटरी निकायको खर्च एवं आम्दानीको एकीकृत विवरण तयार पारेर सार्वजनिक गरेको थियो ।
संसदीय समितिमा गैरबजेटरीबारे आलोचना
संसदीय समितिमा सधैँभरि गैरबजेटरी विषयको आलोचना भए पनि त्यसको समाधानमा सरकार लागेको देखिँदैन । विशेषगरी निर्वाचनको क्रममा हुने गैरबजेटरी शीर्षकमा हुने खर्चलाई लिएर समितिमा प्रश्नहरु उठ्ने गरेको पाइन्छ ।
पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनले गैरबजेटरी ढंगले चितवन र रुकुममा निर्वाचनको लागि ३ अर्बबराबरको बजेट उपलब्ध गराएका थिए । जुन विषयलाई लिएर तत्कालीन अर्थ समितिमा प्रश्न उठेको थियो ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेको छ । उक्त निर्वाचनका लागि पनि गैरबजेटरी शीर्षकमा खर्च नहोला भन्न सकिने अवस्था नरहेको जानकारहरु बताउँछन् । कार्की नेतृत्वको सरकार निर्वाचनको लागि बनेको हुँदा राजनीतिक दलहरु समेत निर्वाचनको लागि तयार भएको अवस्थामा वर्तमान सरकारले निर्वाचनको लागि खर्च गर्ने क्रममा गैरबजेटरी खर्च हुनेमा भने ध्यान पु¥याउनुपर्ने जानकारहरु बताउँछन् ।


