मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घिसिङ राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार कुलमान रविलाई भेट्न उनको निवास पुगेका थिए । भेटमा उज्यालो नेपाल पार्टी र रास्वपाबीचको पार्टी समायोजनपछिको विषयमा छलफल भएको छ । कुलमानले एकता प्रक्रिया सम्मानजनक हुनुपर्नेमा जोड दिँदै आएका छन् । उज्यालो नेपालले केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संशोधन र प्रत्यक्ष निर्वाचन उम्मेदवारीलाई प्याकेजमा सहमति खोजेको बुझिएको छ ।
यद्यपि सहमतिपत्रमा हस्ताक्षर भइसके पनि केन्द्रीय समितिमा उज्यालोको समायोजन र समानुपातिक सूचीको प्राथमिकताक्रममा कुरा मिल्न बाँकी रहेको बताइन्छ । सहमतिपत्रमा कुलमानलाई उपसभापति बनाउने उल्लेख भए पनि पार्टी समायोजनपछि मात्र बैठकमा सहभागी हुने उनको अडान छ ।
राजीनामापछि कुलमानले राजनीतिक भेटघाट तीव्र बनाएका छन् । यसअघि उनले आफ्नै निवासमा पार्टीका नेताहरूसँग आन्तरिक छलफलसमेत गरेका थिए ।


