संखुवासभाका भोटखोला गाउँपालिकामा पहिचान गरिएको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशय जलविद्युत् आयोजना स्वदेशी पुँजी ( ९८ अर्ब लागतमा ) मा निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा अगाडि बढाइएको यस आयोजनाको निर्माण अवधिको ब्याजसमेत गरी कुल अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ (करिब ९८ अर्ब) लाग्ने छ । आयोजना निर्माणको प्रक्रियाले औपचारिक गति लिएको छ l ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाको वित्तीय मोडालिटी तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएसँगै निर्माणको प्रक्रियाले औपचारिक गति लिएको हो ।
सरकारले सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीमार्फत निर्माण गर्ने प्रस्ताव गरेको यस आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) परिचालन गरिनेछ । जसअनुसार करिब ६८ अर्ब ५५ करोड रुपैयाँ ऋणका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (HIDCL), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र बैंक तथा वित्तीय संस्थाहरूसँग सहवित्तीयकरण गरिनेछ । बाँकी २९ अर्ब ३८ करोड रुपैयाँ भने संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणबाट सेयर निष्कासन गरी सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको प्राविधिक तथा भौतिक पूर्वतयारीका कामहरूमा हालसम्म ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ । कर्मचारी आवास र कार्यालयका लागि आवश्यक जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ भने मुख्य संरचनाहरू (बाँध र विद्युत् गृह) निर्माण हुने क्षेत्रको मुआब्जा निर्धारणको कार्य अन्तिम चरणमा पुगेको छ। ऊर्जा सचिव चिरञ्जीवी चटौतका अनुसार विद्युत् उत्पादन कम्पनीको व्यावसायिक दिगोपनाका लागि पनि यो आयोजना निकै महत्त्वपूर्ण रहेकाले तत्काल वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गर्ने तयारी गरिएको छ ।
निर्माण सम्पन्न भएपछि यसबाट वार्षिक २ अर्ब ६९ करोड ९७ लाख युनिट विद्युत् उत्पादन हुने र त्यसको बिक्रीबाट वार्षिक १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । विशेषगरी हिउँदको समयमा हुने ऊर्जा अभावलाई यस आयोजनाले ठुलो राहत दिने अपेक्षा गरिएको छ। यस कम्पनीमा नेपाल सरकारको ३० प्रतिशत र बाँकी विभिन्न सरकारी निकायहरूको स्वामित्व रहनेछ भने २९ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइनेछ।


