Banijya News

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन खुला

1
1.1K Shares

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज माघ ६ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को पहिलो चरण खुला गरेको छ। पहिलो चरण अन्तर्गत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो।

कम्पनीले बाग्लुंग जिल्लामा सञ्चालन भइरहेको जलविद्युत आयोजनासँग प्रत्यक्ष रूपमा सम्बन्धित स्थानीय समुदायलाई लक्षित गर्दै आयोजना प्रभावित क्षेत्रका लागि सेयर निष्काशन गरेको हो। यसअन्तर्गत बडिगाड गाउँपालिकाका वडा नम्बर १ देखि १० सम्मका बासिन्दा तथा प्रसारण लाइन प्रभावित ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीयले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यी स्थानीयका लागि कम्पनीले ९ लाख ८० हजार कित्ता सेयर छुट्याएको छ।

ऊर्जा उत्पादनतर्फ हेर्दा, कम्पनीले बाग्लुंग जिल्लामा निर्माण सम्पन्न गरेको ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ। यसका साथै, सोही खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला जलविद्युत आयोजना निर्माणको चरणमा रहेको छ।

स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा आवेदन अवधि फागुन ८ गतेसम्म लम्बिन सक्नेछ भने छिटोमा माघ २० गतेसम्म आवेदन खुला रहनेछ।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै कम्पनीले २ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको छ। यस समूहका आवेदकले पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि माघ ९ गतेसम्म मात्र तोकिएको छ।

पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्काशन गर्ने तयारी गरेको छ। यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ।

नेपाल धितोपत्र बोर्डले पुस १६ गते शिखर पावर डेभलपमेन्टलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो। बोर्डको स्वीकृतिअनुसार कम्पनीले कुल ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर जारी गर्नेछ।

1

Scroll to Top