Banijya News

महावीर पुनलाई उम्मेदवारी दिने झोक कसरी चल्यो ?

1
1.2K Shares

चुनाव नलड्ने अडान दोहोर्याइरहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन एकाएक राजीनामा दिएर स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दी पुगे l र त्यो क्षणमै उनको उम्मेदवारीले देशको राजनीतिक बहसलाई नयाँ मोड दियो। कुनै पूर्वसूचना बिना आएको यो निर्णय उनको आफ्नै भाषामा ‘झोक’ थियो, तर त्यस झोकभित्र शिक्षा सुधार, युवापुस्ताप्रतिको निराशा र राज्य संयन्त्रप्रतिको असन्तुष्टि मिसिएको थियो।

निर्वाचनसम्म मन्त्रालय सम्हाल्दै सरकारलाई सहयोग गर्ने अपेक्षामा रहेका धेरैका लागि पुनको कदम अकल्पनीय बन्यो। हिजो बिहानै म्याग्दी पुगेर उम्मेदवारी दर्ता गरेसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनका तस्वीर छ्यापछ्याप्ती भए। पुरानै पहिरन, उस्तै सादगी र उस्तै ठाडो बोली—पुन फेरि एकपटक सबैको ध्यानको केन्द्रमा आए।

कसरी चल्यो झोक ?
आफूले पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरू शिक्षा मन्त्रालयलाई दान गरिएको, ती पदक बेचेर राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखानालाई सहयोग गर्ने प्रयास असफल भएको र त्यसैले ती अब सरकारकै सम्पत्ति भएको उल्लेख उल्लेख गदै उम्मेदवारीकै दिन बिहान ७ः४३ बजे उनले सामाजिक सञ्जालमा आफ्नो सन्देश राखे । साथै, ठूलाकोट पोखराको २८ रोपनी जग्गा पनि कृषि औजार कारखानाका लागि बेच्ने प्रयास जारी रहेको बताए।

दिउँसो फेरि ठट्यौली शैलीमै उनले अर्को पोस्ट गरे—निर्वाचन आयोग म्याग्दीमा हाजिर भई स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको र सम्भवतः ७७ वटै जिल्लामध्ये सबैभन्दा पहिले उम्मेदवारी दर्ता गर्नेमा आफू परेको हुनसक्ने लेखेका थिए । उनको यही शैली—गम्भीर विषयलाई पनि हल्का व्यङ्ग्यसहित प्रस्तुत गर्ने—फेरि चर्चामा आयो।

‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारले पुनलाई शिक्षामन्त्री बनाएको थियो। असोज ६ गते शपथ लिएका उनी चार महिनामै मन्त्रालयबाट बाहिरिए। मन्त्री भएपछि पनि मन्त्रालयमै बसेर आफैँ खाना पकाउने, सादा जीवन बिताउने बानीले उनी चर्चित बने। तर चर्चा मात्र होइन, उनले शिक्षा क्षेत्रमा हस्तक्षेपकारी कदमहरू पनि अघि सारे।


त्रिभुवन विश्वविद्यालयको जग्गा प्रतिवेदन सार्वजनिक गर्नु, विद्यार्थी ठग्ने कन्सल्टेन्सीहरूलाई कारबाही, विद्यालय–क्याम्पसमा ‘डिआई’ राख्न नपाइने व्यवस्था, एनओसीसम्बन्धी गुनासो सुन्न ‘विद्यार्थी सहायता कक्ष’ स्थापना, मधेशमा साक्षरता अभियान सुरु—यी सबै उनका कार्यसूचीका बुँदा थिए। विश्वविद्यालयहरू प्रधानमन्त्री कुलपति हुने व्यवस्थाका कारण राजनीतिक भर्ती केन्द्र बन्दै गएको आरोप लगाउँदै उनले त्यो व्यवस्था हटाउन पहल गरे। संशोधित शिक्षा नियमावली ल्याउने प्रयास पनि उनले निरन्तर गरे।

नियमावलीमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाएको हुनुपर्ने, शिक्षक सरुवा व्यवस्थापन, संस्थागत विद्यालयमा लगानी गरेका व्यक्ति सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउनेजस्ता प्रावधान समेटिएका थिए। तर यिनै बुँदामा मन्त्रालय र कानुन निकायभित्रैबाट असहयोग भयो।

आफूले प्रस्ताव गरेका ऐन र नियमावलीलाई कानुनको नाममा अवरुद्ध नगरिदिन पुस २९ गते उनले सामाजिक सञ्जालमार्फत अन्तिम अपिल गर । माघ ३ गतेसम्म नतिजा आउने आशामा उनी अन्तिम घडीसम्म पर्खिए। तर आचारसंहिता लागू हुनुअघि ती प्रस्ताव अघि बढ्न सकेनन्।

त्यसपछि उनी निर्वाचनतर्फ मोडिए। उनका अनुसार ल्याउन खोजिएका तीन अध्यादेश र चार नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए उनी चुनावमा उत्रिने थिएनन्। छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय गठनको प्रस्ताव पनि प्रशासनिक अल्झनमै अड्कियो। यही असन्तुष्टिले उनलाई म्याग्दीतर्फ ‘दगुरायो’।

उम्मेदवारीपछि उनले युवापुस्ताप्रति पनि असन्तोष व्यक्त गरे। पुराना दलमा तानातान हुनु नयाँ कुरा नभएको भन्दै उनले नयाँ भनिएका युवाहरू पनि आपसी खुट्टा तानातानमै अल्झिएको टिप्पणी गरे। सबै प्रधानमन्त्री बन्ने दौडमा रहेकाले साझा दिशा नदेखिएको उनको गुनासो थियो।

वि.सं. २०११ माघ ५ गते म्याग्दीको नागी गाउँमा जन्मिएका पुन आज नेपालका सबैभन्दा चिनिएका वैज्ञानिक, अनुसन्धानकर्ता र समाजसेवीमध्ये एक हुन्। सन् २०१२ मा स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत उनले प्रविधि र नवप्रवर्तनलाई गाउँसम्म पु¥याउने सपना देखे। नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेका उनी पूर्वशिक्षकसमेत हुन्।

अहिले उनी आफ्नै जीवनीमा आधारित पुस्तक ‘महावीर पुनस्ः सम्झना, सपना र अविरल यात्रा’ बेच्दै जनतासँग भोट मागिरहेका छन्। स्वतन्त्र उम्मेदवारीको यो अप्रत्याशित कदमले म्याग्दीको चुनावी समीकरण मात्र होइन, राष्ट्रिय राजनीतिक बहसलाई पनि एकाएक तताइदिएको छ।

1

Scroll to Top