Banijya News

नेपालको आर्थिक वृद्धि दक्षिण एशियामै सबैभन्दा कम

1
1.2K Shares

विश्व बैंकले नेपालको आर्थिक वृद्धि दक्षिण एशियामै सबैभन्दा कम हुने अनुमान गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यो अनुमान जुन महीनामा गरिएको प्रक्षेपणभन्दा ३.१ प्रतिशत बिन्दुले कम हो ।

प्रतिवेदनमा बढ्दो राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितताका कारण यस्तो अवस्था देखिन सक्ने उल्लेख गरिएको छ । यी कारणले पर्यटक आगमन र सेवा क्षेत्रको गतिविधिमा तीव्र गिरावट आउने अपेक्षा गरिएको छ । साथै कमजोर लगानीकर्ताको मनोभाव र बढ्दो अनिश्चितताका कारण औद्योगिक उत्पादनमा पनि मन्दी आउने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार दक्षिण एशियामा भुटानको आर्थिक वृद्धि सबैभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०२५/२६ २६ (सन् २०२५ जुलाई मध्यदेखि २०२६ जुलाई मध्यसम्म) मा त्यहाँको आर्थिक वृद्धि ७.३ प्रतिशत रहने अनुमान छ ।

भुटानपछि भारतको आर्थिक वृद्धि दक्षिण एशियामा दोस्रो उच्च रहने प्रक्षेपण गरिएको छ । प्रतिवेदनअनुसार भारतको आर्थिक वृद्धि ६.५ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षमा आर्थिक वृद्धि कमजोर भए पनि आगामी आर्थिक वर्ष २०८३/८४ (२०२६/२७) मा भने वृद्धिदर पुनः सुधार हुने अनुमान गरिएको छ । सन् २०२६ को शुरुआतमा बंगलादेश र नेपालमा हुने तय भएका निर्वाचनपछि हुने राजनीतिक संक्रमणले आर्थिक स्थायित्वमा सुधार ल्याउन सक्ने विश्व बैंकले जनाएको छ ।

1

Scroll to Top