पूर्वप्रधानमन्त्री डा, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले देशको अवस्था अझै संक्रमणमा रहेकाले प्रतिनिधिसभामा भन्दा जनतामाझ बसेर खबरदारी गर्ने, राजनीतिक दललाई सल्लाह सुझाव दिने बताए। देशलाई अग्रमनमा लैजान आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे।
‘अहिले जेनजी विद्रोहपछि जेनजी समुदाय समूहसँग राज्यले गरेको सम्झौता छ। यिनीहरूको कार्यान्वयन गर्नको निम्ति मैले आफ्नो तर्फबाट सहयोग गर्ने नै छु। आवश्यक पर्ने भूमिका म निशर्त रूपमा निःस्वार्थ ढङ्गले मैले निर्वाह गर्ने नै छु’, उनले भनेका छन्, ‘मैले हुर्काउँदै आएको हिजोको नयाँ शक्ति पार्टी, जो अहिले प्रगति लोकतान्त्रिक पार्टीको रूपमा अगाडि बढेको छ। त्यसको सँगसँगै अरू रास्वपा, उज्यालो नेपाल पार्टी,जुन नयाँ बनेका पार्टीहरू छन् र पुराना दलहरूका पनि अग्रगामी सोच राख्ने जो साथीहरू हुनुहुन्छ, उहाँहरू सबैसँग सहकार्य गर्ने, सबैलाई सहयोग गर्ने मेरो प्रतिबद्धता रहन्छ।’
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन्। ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेका थिए।


